गठबन्धनमा खटपटको संकेत

काठमाडौं । सत्ता समीकरणमा फेरि दरार उत्पन्न भएको छ । सत्तारूढ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकार बनाउन केन्द्रीय समझदारीविपरीत नेपाली कांग्रेसलाई साथ दिएपछि गठबन्धन दलमा दरार उपन्न भएको हो ।

यसले समीकरण बनेको डेढ महिनामै सत्तारूढ दलहरू फेरि टाढिन थालेको कतिपयको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिमबाट विद्रोह गरेपछि समीकरणमा रहेका दलहरूबीच दूरी बढेको छ । दूरी बढ्ने मात्रै होइन एकीकृत समाजवादीको कदमपछि गठबन्धनमा तरंग पैदा भएको छ ।

सुदूरपश्चिममा देखिएको फेरबदललाई कतिपयले नयाँ गठबन्धनमा फेरि उथलपुथलको संकेतका रूपमा समेत लिएका छन् । यसअघि गत फागुनमा नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले आफू रहुन्जेल उथलपुथल भइरहने बताउनुभएको थियो । तर, यसपालि उथलपुथलको सुरुवात एकीकृत समाजवादीले गरेको छ । कारण भने प्रचण्ड-ओलीलाई नै मानिएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री पहिले आफूहरूले पाउने सहमति भएको दाबी गर्दै आएको छ । आफ्नो भागमा परेको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिन खोजिएपछि असन्तुष्ट एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेसले समर्थन गरेका लक्ष्मण किशोरलाई साथ दिएको हो । आइतबार नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रञ्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न थालिएको हो । यसअघि प्रचण्ड र ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए ।

तर, उनीहरूले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति गरेपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो । सुदूरपश्चिममा देखिएको राजनीतिक परिदृष्यको असर अन्य प्रदेशमा समेत पर्नसक्ने ठानिएको छ ।

नयाँ सत्ता समीकरण बनेको दुई महिना पनि नपुग्दै विवाद सुरु भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई भने राहत मिलेको छ । नयाँ समीकरण बनेलगत्तै कांग्रेस सरकारमा आउन धेरै समय नलाग्ने बताइरहेका कांग्रेस नेताहरूले गठबन्धनमा दरार उत्पन्न भएपछि राहत महसुस गरेका हुन् ।

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको गुनासो गरेका छन् । आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर, हेपिएर र पेलिएर पनि बस्न नसक्ने उनको निष्कर्ष छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् ।

जनतामा आशा पलाइरहेको बेला एकीकृत समाजवादीले विपक्षीहरूको आशा पलाउने गरी कदम चालेको उनको भनाई थियो । ‘नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक् हुने हो भने कांग्रेसलाई जिताउने अराजनीतिक निर्णय गर्‍यो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *