सञ्चारमाध्यमका लागि छाता ऐन ल्याउनुपर्ने सांसदहरुको माग

काठमाडौं । सांसदहरुले सार्वजनिक सेवा प्रशारण विधेयकलाई छाता ऐनको रुपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल गर्दै संशोधनकर्ता सांसदहरुले यस विधेयकलाई छाता ऐन बनाउनेगरी अगाडी बढाउनुपर्ने बताएका हुन् ।

उनीहरुले यस विधेयकले सरकारी स्वामित्वका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समेट्नुपर्ने बताए ।

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद दामोदर पौडेलले यस विधेयक रेडियो र टेलिभिजनलाई मात्रै एकीकृत गर्नेगरी आएको भन्दै यसले राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई पनि समेट्नुपर्ने बताए ।

उनले सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमहरुलाई एकीकृत गर्दै ति सँग सम्बन्धित कानूनहरुलाई खारेज गर्नुपर्ने बताए । उनले देशलाई बलियो बनाउनका लागि सरकारद्वारा सञ्चालित निकायहरु बलियो हुनुपर्ने धारणा पनि राखे ।

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले पनि सरकारी सञ्चारमाध्यमहरुलाई एउटै छाताभित्र राख्ने कानून बनाउनुपर्ने बताए ।

उनले सञ्चार माध्यमहरुको दुरुपयोगभइरहेको भन्दै सञ्चार माध्यमले समाजलाई अग्रगमनतिर लिएर जानुपर्ने बताए ।

उनले जसको सरकार बनेपनि बनेका विधि, प्रक्रियामाथि घात नहुनेगरी कानून बनाउनुपर्नेमा जोड दिए ।

सांसद गौतमले नेपाली भाषा, संस्कृति र सभ्यतामा आक्रमण भइरहेको भन्दै नेपालीको मौलिकता, स्वभाव र स्वरुप गुम्ने अवस्था रहेको बताए । उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =