कांग्रेसले गृहमन्त्रीमाथि प्रहार गर्नु उचित होइन : सूर्य थापा

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताएका छन् ।
सांसद थापाले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदामा छटपटी अभिव्यक्त गरेको जिकिर पनि गरे ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी सम्बन्धी उपप्रधानमन्त्री लामिछानेको मुद्दाको विषयमा अदालतमा विचाराधीन रहेकाले त्यसमा संसदमा छलफलको कुनै अर्थ नभएको पनि स्पष्ट पारे ।
‘सहकारीको सन्दर्भमा राष्ट्रिय बहस सृजना गरौँ । समाधान गरौँ। कुनै पनि विषयमा समाधान छन भने अध्ययन गरौं । अगाडि बढाऔं । यो सत्ता र प्रतिपक्षको सौदावाजीको दाउपेचको विषय नबनाउ भन्ने कुरा राख्न चाहन्छु’ उनले भने, ‘यसमा व्यक्ति केन्द्रित प्रहारको कुनै अर्थ छैन । कोही पनि व्यक्तिले यस खालको प्रहार खेप्नु उचित होइन ।’
सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने खालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराए ।
‘सहकारी प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने त्यो समस्या होइन मित्रहरु । म यो कुरा राख्न चाहन्छु उनले भने,‘सहकारीको विषय, वचत कर्ताको वचत अपचलनको विषय ठगीको विषय हो र एक जना पनि सहकारीको वचतकर्ता ठगिनु हुन्न ।’
उनले सहकारीको विषय, बचत कर्ताको बचत अपचलनको विषय ठगीको विषय हो र एक जना पनि सहकारीको बचतकर्ता ठगिनु नहुने बताए । उनले सरकारलाई संसदले निर्देशन गरेर हुन्छ कि, कानून बनाएर हुन्छ कि नठगिने स्थिति सुनिश्चितता गर्नुपर्ने बताए ।
उनले प्रतिपक्षलाई प्रधानमन्त्रीले गठबन्धनको नेता भएर नबोलेको बताए । उनले प्रधानमन्त्रीले प्रतिपक्षको नेता भएर बोल्नुपर्ने हो ? भनेर प्रश्न समेत गरे ।
‘प्रतिपक्षले प्रधानमन्त्रीले गठबन्धनको नेता भएर बोल्नु भयो भनेर भन्नु भयो । प्रधानमन्त्रीले प्रतिपक्षको नेता भएर बोल्नुपर्ने हो ? प्रधानमन्त्रीले सत्तापक्षको बहुमत लिएर यो मुलुकको नेतृत्व गर्छु भन्नु भएको हो’उनले भने, ‘त्यसकारण उहाँले गठबन्धनको नेताको हैसियतले नै बोलेको कुराको सन्दर्भमा प्रधानमन्त्रीले बोल्नु भएको कुराको सन्दर्भमा गठबन्धनको नेता भएर बोल्नुभयो भन्ने सन्दर्भमा यो कुरा मिलेन क्या । मिल्ने कुरा गर्नु प¥यो ।’
उनले अहिले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर बचतकर्ताको बचतलाई सुरक्षित गर्ने, उनीहरुले फिर्ता पाउने, उनीहरूको बचत फिर्ता पाउने प्रत्याभूति गर्ने, सहकारीमार्फत भएको लगानी सुरक्षित गर्ने र त्यहाँ भएका अपचलन, त्यहाँ भएका बदमासीहरूलाई कारबाही गर्ने विषय नै मुख्य विषय भएको बताए ।
उनले उक्त विषय व्यक्ति केन्द्रित विषय नभएको भन्दै समाधान खोज्नुपर्ने बताए ।
सांसद थापाले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र सिङ्गो सांसदका रहेको बताए ।








