पत्रकार सम्मेलन

सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् । उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे ।

उनले संंविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए । अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरू राप्रपालाई स्वीकार्य नरहेको बताए ।

उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए । शनिवारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरूमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरे ।

शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरूमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

उनले भने ‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरु हुने छैनन् । त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस् । प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्लो दिनमा प्रजातान्त्रिक क्रियाकलापहरू संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने जुन प्रयत्नहरू भइरहेको छ । हिजो मात्रै पनि केही राजनीतिक दलका प्रदर्शनहरूमाथि लाठी चार्ज भयो । भिक्षुहरूलाई लात्ती मुड्की गर्ने काम भयो । त्यसको म निन्दा र भर्त्सना गर्दछु । राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेछ । मुख्य सडकहरूमा जुलुस निकाल्नेछ । जनसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्नेछैन । त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ । निषेधित क्षेत्रहरू राप्रपाले तोडेर अघि बढ्नेछ । त्यस प्रकारको मुठभेडको स्थिति सरकारले निर्माण नगरोस् ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =