सांसदहरूको गुनासो – गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुँदा नेतृत्वमाथि प्रश्न उठ्यो

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरू नै समयमा सम्पन्न हुन नसक्नुले मुलुकको नेतृत्व र निर्माण प्रक्रियाको क्षमता माथि प्रश्न उठेको सांसदहरूले बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले यस्तो बताएका हुन् । उनीहरुले राष्ट्रिय गौरवका आयोजना भन्ने तर निर्माण प्रक्रिया वर्षौँसम्म नसक्नुले राज्यको संयन्त्र माथि प्रश्न उठ्ने गरेको बताए ।

उनीहरुले राज्यले निर्माण गर्न लागेको सडक मार्गलाई उचित व्यवस्थापन गरी समयमा नै निर्माण सम्पन्न गरी नागरिकलाई सहजता दिनु राज्यको दायित्व भएको बताए । सांसदहरूले निर्माण योजनाहरू निर्माणमा हुने ढिलाइ त्यहाँ भित्रको भ्रष्टाचार भएको पनि बताए । उनीहरुले राष्ट्रिय गौरवका आयोजनामा ८० प्रतिशत पनि पुँजीगत खर्च नगर्ने र बेरुजु फर्स्यौट नगर्ने आयोजना प्रमुख कायम रही रहन नहुने बताए ।

समितिको बैठकमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण प्रगति सन्तोषजनक नभएको बताए । उनले १८ वर्ष हुँदा पनि सडकको अवस्थाका विषयमा छलफल गर्नु भनेको नेपालको विकास निर्माणको प्रक्रिया र क्षमतामा माथिको प्रश्न भएको बताए । उनले राजनीतिक नेतृत्वको मात्रै नभएर प्रशासनिक, प्राविधिक, विकास आयोजना योजनाविद् समेतको क्षमतामाथि प्रश्न उठेको दाबी गरे ।

उनले हुलाकी राजमार्ग लगायत अन्य सडक आयोजनाहरूमा निर्माण सम्पन्न गर्नसक्ने गरी बजेट विनियोजन गर्न समितिबाट निर्देशन दिन आवश्यक रहेको बताए । उनले हुलाकी राजमार्गमा भएका ठेक्काको रि–भ्यु गर्न जरुरी रहेको पनि बताए । उनले ठेक्का ठिक छ भने निरन्तरता र नभएर परिवर्तन गर्न सरकारले तदरुपता देखाउनु आवश्यक रहेको बताए ।

उनले कमला पुल निर्माण समयमा निर्माण भएमात्रै पनि ६० लाख जनसंख्या भएको मधेस प्रदेशलाई सहज हुने बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा ८० प्रतिशत पनि पुँजीगत खर्च नगर्ने आयोजना प्रमुख तत्काल बर्खास्त गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गले निर्माण प्रगति राम्रो देखाउन सकेको छैन । १८ वर्ष हुँदा पनि यो सडकको अवस्थाका विषयमा छलफल गर्नु भनेको नेपालको विकास निर्माणको प्रक्रिया र क्षमतालाई देखाउँछ ।’

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह के।सी।ले नेपालका विकास निर्माणका कामले तीव्रता नपाउनुको कारण बजेट अभाव मात्रै नभई आयोजना व्यवस्थापन र नेतृत्वको कमजोरी भएको बताए । उनले आयोजनाभित्र भएको लापरबाही, भ्रष्टाचार पनि मूल कारक तत्व भएको दाबी गरे । उनले यसलाई सही मूल्याङ्कन गरी त्यस्ता कार्यको अन्त्य गर्न आवश्यक रहेको बताए ।

उनले निर्माण आयोजनाहरूको सबै भन्दा कम मूल्यमा हुने बिल्डिङ प्रमुख कारण बन्दै आएको पनि बताए । उनले हुलाकी राजमार्ग महत्वपूर्ण सडक मार्ग भएको भन्दै आर्थिक मेरुदण्डको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘नेपालका विकास निर्माणका कामले तीव्रता नपाउनुको कारण बजेट अभाव मात्रै होइन । आयोजना व्यवस्थापन र नेतृत्वको कमजोरी पनि हो । त्यस्तै आयोजनाभित्र भएको लापरबाही,भ्रष्टाचार मूल तत्व हुन् । यसलाई सही मूल्याङ्कन गरी त्यस्ता कार्यको अन्त्य गर्न आवश्यक छ । निर्माण आयोजनाहरूको सबै भन्दा कम मूल्यमा हुने बिल्डिङ प्रमुख कारण बन्दै आएको छ । त्यसले पनि धेरै काम नहुने गरेको छ । हुलाकी राजमार्ग अत्यन्तै महत्वपूर्ण सडक मार्ग हो । आर्थिक रुपमा पनि मेरुदण्डको रुपमा विकास गर्न सकिन्छ । ६५ प्रतिशत काम भएपनि गुणस्तरमा कस्तो छ ।’

बैठकमा बोल्दै डा.अमरेशकुमार सिंहले हुलाकी राजमार्ग आफूहरूको पुस्ता बाँचुन्जेल नबन्ने ठोकुवा गरे । उनले अझै कम्तीमा २० वर्ष हुलाकी राजमार्ग बन्न नसक्ने बताए । उनले नेपालको हुलाकी राजर्मागको डिजाइन विश्वका कुनैपनि देशमा नभएको मापदण्डमा बनाउन लागि रहेको बताए । उनले १४ वर्षमा एउटा पुल बनाउन नसक्ने सडक विभागले देशमा सडक बनाउँछ भन्ने विश्वास नभएको बताए । उनले हुलाकी राजमार्गको ठेक्का दिएर सडक विभागले दुई÷चार जना सांसद बनाउने काम मात्रै गरेको बताए । हुलाकी राजमार्गको रकम अनियमितता गरेर संघीय र प्रदेशमा सांसद भएको आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय गौरवका आयोजनाहरू समयमा सम्पन्न नहुने र भएपनि गुणस्तरहीन हुने गरेको बताए । उनले सडकको ठेक्का लिएर र मोविलाइजेसनको पैसा लिएर एकैपटक आयोजनाको म्याद थप गर्न निर्माण कम्पनी जाने गरेको आरोप लगाए । उनले राज्यका प्रशासनिक, निर्माण कम्पनीको लापरबाहीका कारण पनि ४५ अर्ब लागत अनुमान गरेको आयोजनामा १ खर्ब पुगेको बताए ।

सांसद दाहालले हुलाकी राजमार्गको ६५ प्रतिशत भएको काम पनि गुणस्तरहीन भएको दाबी गरे । उनले सडकको भुक्तानी दिन पनि सम्बन्धित निकायका अधिकारीलाई निर्माण व्यवासायीहरुले गर्नुपर्ने भुक्तानीको अन्त्य हुन आवश्यक रहेको बताए । कमिसन र भ्रष्टाचारबाट नेपालका पूर्वाधार आयोजनाहरूको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

बैठकमा बोल्दै सांसदहरूले विकास निर्माणमा भएको ढिला सुस्तीलाई तीव्रता दिन सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए । उनीहरुले सरकारले हुलाकी राजमार्ग लगायत अन्य आयोजनाहरूको निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्नेगरी निर्माण कम्पनी,आयोजनालाई निर्देशन दिन सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =