संसदको शून्य समयमा बोल्ने सांसदहरूले के भने ?

काठमाडौँ । प्रतिनिधि सभाको शून्य समय सांसदहरूले वैवाहिक समारोहमा हुने तडकभडक रोक्नुपर्ने देखि सहरकारी ठगी गर्ने मन्त्रीहरूको विषयमा छानबिन गर्न माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । उनीहरुले किसानको दूधको भुक्तानी गर्न, जोखिमपूर्ण सडक सुधार गर्न,सहकारी ठगी प्रकरण छानबिन अगाडि बढाउन, वीर अस्पतालमा आवश्यक जनशक्ति पूर्ति गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताए । उनले फिल्मी तरिकाले हल्दी, मेहन्दी लागत बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले मधेसमा जन्ती हेलिकप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गरे ।

उनले भने ‘मधेसमा जन्ती बेहुली कहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दैछ । त्यसले तीन वटा कुरामा जोखिम बढाएको छ । यसको आर्थिक भार बेहुलीको माइतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, हेलिकोप्टर ल्याण्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ । त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस् ।’

नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले वीर अस्पतालमा जनशक्ति अभावको कारण देखाउँदै आकस्मिक कक्षलाई गोदाम बनाउने काम भएको भन्दै तत्काल आवश्यक जनशक्ति पूर्ति गर्न सरकारसँग माग गरिन् । उनले आवश्यक जनशक्ति पूर्ति गरी वीर अस्पतालमा आकस्मिक कक्ष लगायत उपचारलाई निरन्तरता दिन माग गरिन् । उनले बिरामीहरूले अस्पतालमा सास्ती भोग्नुपर्ने अवस्थाको अत्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् ‘गरिबको लागि भनेर चिनिएको वीर अस्पतालको आकस्मिक बेडमा तीन जनासम्म राखी सास्तीका साथ उपचार गराई रहेका छन् । अस्पतालमा आइसियु नभएर विभिन्न अस्पतालमा भौँतारिनुपरेको छ । महँगा निजी अस्पतालमा आइसियुमा खोज्नुपर्ने अवस्था भएको छ । तर वीर अस्पतालको आकस्मिक कक्षको कोठा गोदाममा परिणत भएको छ । सघन अति सघन कक्षको कोठा घटाइएको छ । जुन जनशक्तिको अभाव भनेको पाइन्छ । वीर अस्पतालमा काम डाक्टर नर्स सहितका करिब दुई सय जना कर्मचारी हटाउँदा अस्पतालका कोठाहरू गोदाम घरमा परिणत भएका छन् । वीर अस्पतालमा जनशक्ति अभाव तत्काल पूरा गरी सबै सेवा सुचारु गर्न माग गर्दछु ।’

प्रतिनिधि सभा सांसद महेन्द्रकुमार रायले महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरूको भन्सार काट्ने अनुमति दिन माग गरिन् । उनले उक्त भन्सारमा ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेटमा सुख्खा बन्दरगाह निर्माणको लागि सम्बन्धित निकायसँग माग गरिन् ।

उनले भनिन् ‘महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरूको भन्सार काट्ने अनुमति दिन र ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेट निर्माणको लागि सभामुखज्युमार्फत सम्बन्धित निकायसँग माग गर्न चाहन्छु ।’

बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरूले लामो समयदेखि दूध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरे । उनले देशभर करिब ५ अर्ब भन्दाबढी दूधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरूलाई मात्रै करिब ६० करोड रहेको बताए । उनले नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरूलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताए । उनले किसानको दूधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गरे । उनले खेतीपातीको समय सुरु भएको भन्दै किसानहरूले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक खण्डको यात्रा कष्टकर रहेको बताए । उनले उक्त सडक बर्सातमा भयावह र जटिल हुने निश्चित रहेको भन्दै मर्मतको लागि सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीको चीनको भ्रमणका बेलामा दुईपक्षीय वार्ता नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मत सभार सुरु गर्न चिनियाँ पक्ष तयार भएको उल्लेख भएको भन्दै अर्थमन्त्रालय वैदेशिक साहयता महाशाखा लगायत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

उनले मङ्सिरदेखि यताको किसानलाई सरकारले दिनुपर्ने भुक्तानी बक्यौता नपाएको बताए । उनले डिडिसी र निजी क्षेत्रले उत्पादन गरेका दुग्धजन्य पदार्थको ७ अर्बको गोदाम भएर बसेका सामानहरू सरकारले आयात प्रतिस्थापन गर्ने,गोदाम भएर बसेका वस्तुहरूको बजारीकन गर्ने डिमाण्ण र सप्लाईको वैज्ञानिक व्यवस्थापन गर्ने योजना बनाउन माग गरे ।

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले सहकारी ठगी प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएको बताइन् । उनले सरकारले सहकारी ठगीको छानबिन गर्ने बाटो बन्द गरेको भन्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गरिन् । उनले ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको भन्दै अब सांसदहरूले सार्वजनिक सवारी साधनमा हिँड्दा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको दाबी गरिन् ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय पिएसोको आतंक बनेको बताए । उनले पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भएपनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताए । उनले दक्षता, क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भएको दाबी गरे ।

उनले मन्त्रीहरू प्रशिक्षण लिइरहेको अवस्था प्रशिक्षार्थी मन्त्रीले प्रशिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी मुलुक बन्न नसक्ने दाबी गरे । उनले सरकारले संसदको मानमर्यादा हनन् गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *