बहसका लागि गृहमन्त्री लामिछानेलाई कांग्रेसको निम्तो, तोक्यो ठाउँ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि तयार हुन आग्रह गरेको छ । गृहमन्त्रीले कांग्रेससँग खुला छलफलका लागि तयार भएको तर्क गरेपछि कांग्रेसले संसद्‌मा जवाफ फर्काएको हो ।

बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई संसदीय समितिमा बहस गर्न चुनौती दिएका हुन् । ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु,’ उनले भने, ‘नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु ।’

उनले गृहमन्त्री लक्षित अकबर र बिरबलको कथाको प्रसंग पनि उठाए । ‘प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दोष हुनुहुन्छ । अरू सांसद्ले पनि भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ । अकबर र बिरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् । गृहमन्त्रीलाई निर्दोष साबित गर्न पाउने हक छ, त्यो दिउँ । यसको लागि संसदीय छानबिन समिति बनाऔँ,’ शर्माले भने ।

उनले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताए । ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं,’ महानत्ती शर्माले भने, ‘प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति ९प्रस्ताव० आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *