राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए होलीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे ।

उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे । ‘नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरे । उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताए । ‘पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई-मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमासुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।’

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ । ‘नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ,’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताए । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरे । ‘हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली पर्व)मा मौलिकतालाई जोगाउन आह्वान गरेकी छिन् । उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिइन् ।

उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गरेकी छिन् । ‘होली पर्व मनाउने सन्दर्भमा देखिने जोरजबर्जस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोगजस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ,’, उनीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, ‘तसर्थ हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।’

शुभकामना सन्देशमार्फत उनले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलितरूपले क्रियाशील रहन यस सांस्कृतिक पर्वले प्रेरणा प्रदान गर्ने बताइन् । पूर्व राष्ट्रपति भण्डारीले होलीमा प्रयोग गरिने रङमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुनसक्ने खतरा भएको भन्दै यस्ता रङहरूको प्रयोगमा सावधानी अपनाउन सुझावसमेत दिइन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमाको अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होली पर्व शालीनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताए । ‘सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाउँदै फागु पूर्णिमा (होली पर्व) मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होलीपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन् ।

बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ । उपराष्ट्रपति यादवले होलीको सांस्कृतिक महत्वबारे उल्लेख गर्दै पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय भएको बताए । “अपरिचित, जोसुकै बटुवा, आफूभन्दा जेठो, ज्येष्ठ नागरिकलगायतमाथि फोहर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्नेजस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अतिआवश्यक छ,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।

सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसङ्गति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।’

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् । ‘होलीपर्वले आपसी वैमनस्य, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्,’ शुभकामना सन्देशमा भनिएको छ ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होलीपर्वले खराब प्रवृत्तिमाथि असल र सत्यको विजय हुने सन्देश प्रवाह गर्नुका साथै हिमाल, पहाड र तराईमा फरक-फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्दै आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको सन्देशमा उल्लेख छ ।

यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एकसूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीपर्वलाई रङहरूको पर्वका रूपमा मनाइन्छ । होलीमा असत्यमाथि सत्यको विजयको खुसीयालीमा हर्ष र उल्लासका साथ एकापसमा अबिर, रङ लगाउने चलन छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन् । अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए ।

सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता पर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भन्दै उनले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको सन्देशमा उल्लेख गरे ।

नेपाली समाजलाई यस्ता चाडले एकताबद्ध गरी पारस्परिक सम्मान, सहअस्तित्व, सद्भाव स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका पर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने बताए । अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =