राष्ट्रिय जनमोर्चाको आपत्ति– ‘मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनायो’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेका हुन् । उनले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए । उनले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ? भन्दै प्रश्न गरे ।

उनले भने ‘भर्खरै नयाँ समीकरणबाट नयाँ सरकार बनेको छ । यो नयाँ सरकारमा नयाँ मन्त्रीज्युहरु आउनुभएको छ । उहाँहरूको पनि कार्यकाल सफल होस् । यो नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नको लागि भुमिका खेलोस् । तर बनेको यो गठबन्धन सरकारको बारेमा अलिकति फरक विचार छ । हिजो जुन गठबन्धन बनेर देशको नेतृत्व हाँकेको थियो । हाम्रो पार्टी यो गठबन्धन गर्नु गलत भयो भन्ने पक्षमा छ । हिजो के कारणले गठबन्धन भएको थियो र आज राजनीतिक समीकरण बदलेर हाम्रो प्रधानमन्त्रीलाई रातारात के त्यस्तो दबाब आयो, उहाँले थेग्न सक्नुभएन र समीकरण बदल्नुभयो, यो आश्चर्य लागेको छ । मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरू छन् । सहकारीमा घोटाला भएका मुद्दाहरू जीवितै छ । स्वयं उही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको त्यो स्वाभाविक रुपमा स्विकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ ।’

उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *