चितवन पुगेर देउवाले भने– गठबन्धन टुट्दैन

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए ।

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नुलाई सामान्य रूपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए ।

पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे । ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने ।

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी चितवन आइपुगेका छन् ।

कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै आइपुगेका थिए ।

नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ ।

उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *