एमालेले गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता गरायो तीन संकल्प प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

बुधवार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रस्ताव दर्ता गराएको हो । जसअनुसार लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रस्ताव दर्ता गरेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कालीगण्डकी तनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएको भन्दै सो विषय खारेजीको माग गरी संकल्प प्रस्ताव दर्ता गरेको हो ।

संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भएपनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रस्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ । साथै एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को नयाँ वर्षबाट सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै विमानस्थल सञ्चालन गर्न आवश्यक एयर सर्भिस एग्रिमेण्ट लगायतका अन्य आवश्यक पूर्वाधार निर्माण गरी नेपाल एयरलाइन्सको जहाजमार्फत यथाशीघ्र नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्न आग्रह गरेको छ ।

त्यस्तै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई समेत नियमित अन्तर्राष्ट्रिय उडान गर्न आकर्षित गर्ने नीति, योजना तथा कार्यक्रम तत्काल सञ्चालन गर्न प्रदेश सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको बताएको छ । सरकारले अध्ययन गरी सञ्चालन गर्न लागेको कालीगण्डकी तनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना संविधानअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय नगरी संघीय सरकारले एकतर्फी रुपमा सुरु गर्न लागेको भन्दै परियोजना तत्काल खारेज गर्न माग गरेको छ ।

संकल्प प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सांसद गोविन्द नेपालीले एमालेले तीन वटा संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको बताए । उनले संकल्प प्रस्तावमा सुस्ता गाउँपालिका गण्डकी प्रदेशमा रहनुपर्ने, कालीगण्डकी तनहुँ डाइभर्सन बहुउद्देश्यीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएकाले खारेजी गर्न माग गरिएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने नीतिगत र विविध पहलकदमीहरूका बारेमा प्रदेश सभा सचिवालयमा दर्ता गराएको बताए ।

संकल्प प्रस्ताव ग्रहणपछि बोल्दै गण्डकी प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले संकल्प प्रस्ताव प्रदेश सभा सदस्यहरूले एक हप्ताअघि, मन्त्रीहरूले तीन दिनअघि सचिवलाई दिनुपर्ने प्रावधान रहेको बताए ।

तीन वटै संकल्प प्रस्तावहरू सचिवले कार्यव्यवस्थाका नाममा दर्ता गर्ने तोक लगाइसकेपछि प्रक्रिया अघि बढ्ने सचिव पोखरेलले बताए । संकल्प प्रस्तावको स्वीकार गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय सभामुखको हुने र संसदको कामकारबाहीबाट संकल्प प्रस्ताव अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *