राप्रपाले सोमवार संसद चल्न नदिने, लिङदेन भन्छन्– टुलुटुलु हेरेर बसिन्न

काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
उनले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे ।
उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गरे ।
उनले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिए ।
उनले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताए ।
उनले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताए ।
उनले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताए ।
उनले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताए ।
अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गरे ।
उनले मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताए ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताए ।
अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरे ।
उनले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए ।
उनले गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणालीबारे प्रश्न गरे ।








