सांसदहरूको सुझावको आधारमा बजेटको व्यवस्था हुनुपर्छ : सांसद घिमिरे

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरूले दिएको सुझावको आधारमा बजेट बनाउन सरकारलाई दबाब दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदका योजनाहरूलाई कटाएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याए आफूहरूलाई मान्य नहुने समेत बताए । सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेटका लागि तत्काल प्रि बजेट छलफल गराउने अडानबाट पछि नहटन पनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।
उनले भने, ‘अब बजेट विनियोजनको लागि प्रि बजेट छलफल गराउँछु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । यो कुरामा प्रधानमन्त्री दृढ रहनुहोस् । र सांसदहरूका आवाजलाई उहाँले यो बजेटमा समावेश गर्नुपर्छ । हामी जननिर्वाचित भएर आउँदै गर्दा जनतासँग जुन आश्वासन दिएका छौँ, तिनलाई कैँची लगाएर काट्न अधिकार सरकारलाई छैन । उहाँहरू जसरी निर्वाचित भएर आउनु भएको हो, त्यसैगरी हामी पनि निर्वाचित भएर आएका हौँ । हाम्रा कुराहरू पनि बजेटमा राख्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’
सांसद घिमिरेले सांसदहरूले जनतालाई दिएको आश्वासन सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने बताए ।








