बिआरआईलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरू पछि परेको बताए ।

उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको बताए । उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।

उनले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।

उनले भने ‘खासगरी बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्नेकुराहरुमा हामी पछाडि परेका छौँ । नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्दछ । नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरूको आदानप्रदानले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको छ । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अङ्ग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनुपर्दछ । विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको छ । यसमा विलम्ब नगरीकन परियोजनाहरूको छनोट, तिनको शीघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ । बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको छ । आजको प्रविधि र विकासको युगमा अति नै महत्वपूर्ण छ । ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि यो हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ । कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न म महामहिम उपमन्त्रीज्यूमार्फत चीन सरकारलाई आग्रह गर्न चाहन्छु ।’

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने बताए ।

उनले चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरू छिटो कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =