निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताए । ‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमानदार भएर लागौँ । एक वर्ष सबैले इमानदार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ । हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ । त्यस कारणले निगम हामीले बनाउनै पर्छ । जतिबेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ,’ उनले भने, ‘मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभूति पनि हुन्थ्यो । सबैभन्दा ठुलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्षदिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन । कछुवाकै गतिमा भएपनि हामी अघि बढिरहेका छौँ । यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौंदेखि सेतो हात्तीको रूपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्, वा अन्तर्राष्ट्रिय र हाम्रो ट्रङ्क रुटमा पनि उड्ने जहाजहरूको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस् । ढिलो भएपनि अघि नै बढेका छौँ । आजदेखि निगमको गाडीमा गेयर चेन्ज भएको छ । अब स्पिड लिने विश्वास छ ।’

नेपाल वायुसेवा निगमको सिनामंगलस्थित आफ्नै जग्गामा कार्यालयको शिलान्यास भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =