प्रधानन्यायाधीशको प्रश्न– अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन् ।
कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाई थियो ।
नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गरे ।
उनले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने–‘तपाई कर्मचारी साथीहरुले गर्दा नै अहिले गतिमा हिँड्दैछ न्यायालय । अहिले कसैले हामीलाई औंला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौ नि । कर्मचारी, न्यायाधीश सबै ल गरौँ भनेर होष्टेमा हैैसे पार्नुभएको छ । तपाईहरुको ठूलो योगदान छ । सबै कर्मचारी साथीहरुको योगदान छ । त्यसलाई म आदर, सम्मान गर्छु । र, जुन काम तपाईहरुले गर्नुभएको छ । यदि त्यो न्यायसँग सम्बन्धित छ । कानूनसँग सम्बन्धित छ । त्योदेखि बाहेक म जान मिल्दैन । तपाईले यति कुरा बुझिदिनुस् मेरो । त्यस्तो छ भने मसँग आउनुस् । म त्यो काममा तपाईहरुले सधै सहयोग र साथ दिन्छु ।’
न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गरे ।








