जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्नुस् : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न अनुरोध गरेका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो अनुरोध गरेका हुन् ।
उनले भने, ‘रुस वा युक्रेनमा त्यहाँको लडाइँमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन । रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटकपटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ । तपाईँले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ । मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमा । सरकारले गम्भीर रुपमा लिएन भन्नेकुरा सही होइन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’
प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरू सेना भर्तीको विषयलाई सरकारले गम्भीर रुपमा लिइरहेको बताए । आफूले भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भेटेर नेपालीहरूलाई स्वदेश फर्काइदिन भनेको उनको भनाई छ ।








