भैरहवा र पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआएकोमा राष्ट्रपतिको असन्तुष्टि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

होटल संघ नेपाल (हान) ले मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले सो चासो व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रुपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाइ नहुने स्पष्ट पारे ।

उनले सो अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए । होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरूलाई आग्रह गरे ।

उनले नेपालको रैथाने खानालाई सोझै कृषकहरूसँग सहकार्य गरेर पर्यटकहरूको सत्कारमा लगाउनसके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिनसक्ने बताए ।

उनले भने ‘होटल क्षेत्र देशकै अर्थतन्त्रको प्रमुख आधार हो । नेपालको होटल क्षेत्रले अतिथि देवो भवःको मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय हो । सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हाँसिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु । पर्यटन तथा होटेलको बिस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको तथ्य उल्लेख गर्न चाहन्छु । मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरु भइरहेको, अगाडि बढिरहेका छन् । साथै मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा आई मुलुकमा बढिभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउनसके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ हुने छैन । मलाई विश्वास छ–यो पनि चाँडै नै एयररुट खुल्छ होला । हामीलाई आशा छ । यस कार्यका लागि विगत छ दशकदेखि यहाँहरूले खेल्नुभएको भुमिका उल्लेख्य नै छ । र भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । नेपालको विशिष्टता, प्राकृतिक शौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ । पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले अघि बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, निःशुल्क इन्टरनेटलगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव अझ व्यापक हुनेछ भन्ने मलाई लाग्दछ । अहिले मुलुकमा एकपछि अर्को गरी ठूलाठूला होटलहरुको स्थापना भइरहेको छ । हामीले पर्यटन उद्योगहरूको संरचना खडा गरी स्वदेश, विदेशी पाहुनाहरूलाई आतिथ्यता प्रदान गर्न सक्षम रहेको ठानेको छु । यससँगै नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत यसैसाथ विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको महसुस गरेको छु । त्यस्तै जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्यवस्तुहरू सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन म आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =