भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौंको मात्रै नभइ देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यु यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुशी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’
नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए । आजदेखि उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु गरिएको हो ।








