माधव नेपालको आरोप– ओलीले सिद्ध्याउने षड्यन्त्र गरे(भिडिओ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिद्ध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिद्ध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरू क्रान्तिकारी हुनै नसक्ने बताए ।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।

उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिङ्गो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए ।

अध्यक्ष नेपालले भने ‘हामीले देखिरहेका छौं–हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिद्ध्याउन खोजिरहेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन । त्यसो हुनाले चुनौती छन । यति सजिलो छैन । आफ्नै शक्ति बलियो बनाउनु पर्दछ । गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । आफ्नो शक्तिको आधारमा संगठन बिस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो । यस अर्थमा अरुले हामीसँग मागुन् कि हामीलाई दिनुस् । हामीले माग्न जाने स्थिति होइन । यी सबै कुराहरूलाई तपाईँहरूले ध्यानमा राख्नुहुनेछ । अहिलेदेखि नै पार्टी निर्माणको अभियानमा, सदस्यता वितरणको अभियानमा, सिङ्गो पार्टी पङ्क्तिलाई प्रष्ट पार्ने अभियानमा जुट्ने कुरामा लाग्नुहोस् ।’

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका विरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =