चेतन ऐडीको मुद्दामा न्यायाधीश पैसामा बिकेको आरोप

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुका तत्कालीन सचिवालय सदस्य बाजुराका चेतन ऐडीको हत्यामा संलग्नलाई छोड्ने सर्वोच्च अदालतको फैसलामाथि पोखरामा व्यंग्यात्मक शैलीमा प्रदर्शन गरिएको छ ।
अनेरास्ववियु गण्डकीले जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलको फैसला उल्टाइएकोमा आपत्ति जनाउँदै आइतबार विरोध प्रदर्शन गरेको हो । सहभागीले ‘पैसामा बिक्ने न्यायाधीश मुर्दावाद ! हत्यारा छुटाउने कानुनमन्त्री होसियार’, ‘चेतन ऐडीको हत्यारालाई उन्मुक्ति दिने न्यायाधीश राजीनामा दे’, ‘न्याय बेच्न पाइँदैन’लगायत लेखिएको पम्प्लेट बोकेका थिए ।
प्रदर्शनमा न्यायाधीश प्रकाशमान सिंह राउतले कानुनमन्त्रीको निर्देशनअनुसार फैसला गरेको दाबी गर्दै अनेरास्ववियुले ‘डेमो’ देखाएको थियो । न्यायाधीशको भेषमा अनेरास्ववियु गण्डकीका सहसचिव स्वीकार पोखरेल थिए । उनको आँखामा कालो पट्टी र हातमा तराजु थियो । तराजुमा एकातिर एउटा कागजमा ‘न्याय’लेखेर राखिएको थियो भने अर्कोतर्फ पैसा राखिएको थियो ।
न्यायालय पैसामा बिकेको र न्याय किनेको देखाउन आफूहरूले विरोधमा फरक शैली अपनाएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रबिन क्षेष्ठले बताए । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले गत १९ पुसमा जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
बाजुराको नाटेश्वरी मतदान केन्द्रमा गत वर्ष ४ मंसिरको चुनावमा चेतन ऐडी मतदान प्रतिनिधि खटिएका थिए । त्यतिबेला भएको विवादलाई लिएर अन्य पार्टीका कार्यकर्ताले मतदान सकिएपछि ऐडीको घरमै गएर त्यही रात उनको हत्या गरेका थिए ।








