सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाउँदै

नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ।

नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दै छ।

पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा तथा दीपज्योतिसहित ऐतिहासिक सैनिक पोसाक लगाएर र परम्परागत बाजा बजाउने छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ ।

यसैगरी देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा पनि विविध कार्यक्रम आयोजना गरिने उक्त निर्देशनालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =