चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को युनान प्रान्तका डेपुटी सेक्रेटरी सी युकाङ नेपाल भ्रमणमा आउने भएका छन् । उनी पुस १९ गते काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल–भारतको संयुक्त आयोगको बैठककै दिन सीपीसी नेता सी युकाङ नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल बसाईका क्रममा उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री सुदन किरातीलगायतसँग भेटवार्ता गर्नेछन् । उनले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पर्यटनमन्त्रीसँगको भेटमा युकाङले पोखराबाट चीन सिधा उडानका बारेमा छलफल गर्ने बताइएको छ । चिनियाँ कम्पनीले महँगोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
सोही दिन भारतीय विदेशमन्त्री एस जयशंकरको टोली पनि नेपाल भ्रमणमा आउँदैछन् । भारतीय टोलीमा विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा र नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव सहितका अधिकारीहरू नेपाल आउँदैछन् ।








