प्रधानमन्त्री लिएर दुबई उडेको नेपाल एयरलाइन्सको टिकट काटेका ३१ यात्रु छुटे

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर दुबई जाने क्रममा ३१ यात्रुलाई काठमाडौंमै छाडेको छ । नेपाल एयरलाइन्सको बुधबार रातिकाे उडानको टिकट काटेका ३१ यात्रु काठमाडौंमै छुटेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गर्ने तालिका थियो । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

यात्रु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले बताएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टा अघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो ।

उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रु फर्किन बाध्य भएका हुन् । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । तर निगमले भने यात्रुहरुलाई पूर्व जानकारी दिएका दाबी गरेको छ । ती यात्रुलाई आज उडाइने नेवानिले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *