वैशाखमा पार्टी एकता

अस्तित्व जोगाउन बैसाखीको खोजीमा प्रचण्ड-बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र लगायतसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एउटा समिति गठन गर्‍यो ।

भट्टराईको नेतृत्वमा बनेको संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सह अध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन् । बुधवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समाजवादी केन्द्र निर्माणका लागि माओवादी लगायतका विचार, राजनीति मिल्ने शक्तिहरूसँग एकता र धुब्रीकरण गर्न समिति गठन गरेको हो ।

फुटैफुटको राजनीतिमा रमाइरहेका बाबुरामले फेरी एक पटक आफ्ना पुराना सहकर्मी तथा जनयुद्धका अर्का कमान्ड प्रचण्डसँग मिल्ने तयारी छन् । पार्टीभित्रको दबाब थेग्न नसकेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भए । लामो समयदेखि पार्टी एकतालाई टार्दै आएका भट्टराईले वार्ता समिति भङ्ग गर्नुका साथै केन्द्रीय समिति भङ्ग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव कार्यकारिणी बैठकमा समेत राखेका थिए । तर, अर्का अध्यक्ष महिन्द्रराय यादव, सह अध्यक्ष गङ्गानारायण श्रेष्ठलगायतका नेताहरू एकता गर्ने पक्षमा उभिएपछि भट्टराई दबाबमा परेका हुन् ।

प्रचण्डले प्रयोग गरेको अस्त्र !
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रवार डा. भट्टराईलाई बोलाएर आफूहरूकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए । लामो समय संवादहीनतामा रहेका दाहाल र भट्टराईको सो भेटले एकताका लागि जोडबल गर्न दुवै पार्टीका नेताहरूलाई सहयोग पुगेको थियो ।

चुनावपछि चिस्सिएको सम्बन्ध सुधार हुन नसक्दा माओवादी अध्यक्ष दाहाल भट्टराईबिनै पनि नेसपासँग एकता गर्ने मनसायमा थिए । भट्टराईबाहेक नेसपासँग एकता गर्दा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पनि सहज हुने भएकाले दाहाल उनलाई रोकेरै भए पनि एकता गर्ने मुडमा देखिन्थे ।

माओवादीको दोस्रो तहका नेताहरू भट्टराईलाई पार्टीमा उचित स्थान दिएर एकता गर्ने गरी गृहकार्यमा लागेका थिए । तर, भट्टराईको आगमनले अन्य नेताहरूको व्यवस्थापनमा समस्या देखिने भएपछि अध्यक्ष दाहालले भट्टराई बाहेकको एकता गर्न रुचि देखाएका थिए । भट्टराईसहितको एकताले माओवादीलाई पुरानै स्थितिमा पु-याउन सकिने आशा बोकेका माओवादी दोस्रो तहका नेता भने जसरी पनि उनलाई माओवादीमा ल्याउनुपर्ने पक्षमा देखिए ।

माओवादी केन्द्र सुदूरपश्चिम उपाध्यक्ष अक्कल रावलका बाबुराम माओवादीमा फर्किँदा आम कार्यकर्तामा माओवादीप्रतिको विश्वास कायम राख्न सकिने भए पनि पार्टीभित्रको सन्तुलन बिग्रिने भयका कारण अध्यक्ष दाहालले यसमा रुचि देखाएका थिएनन् । नेसपाको पनि अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ माओवादीसँग एकता गर्न सहमत भए पनि तत्काल बाबुरामलाई छोडेर एकता गर्न नसक्ने बताउँदै आएका थिए ।

शान्ति सम्झौता भएको १७ वर्ष पुगेको अवसरमा पार्टी एकता गरेर सन्देश दिन खोजेका माओवादी अध्यक्ष दाहालले अन्तिमसम्म प्रयास गर्दा पनि बाबुराम बाहेक नेसपाका नेतालाई माओवादी भित्र्याउने प्रयासमा असफल भएपछि आफैँ अग्रसर भएर बाबुरामसँग छलफलमा जुटेको नेताहरूको भनाइ छ ।

बालुवाटारमा भएको भेटमा दाहालले आफूहरूकै नेतृत्वमा समायोजन समिति बनाउने प्रस्ताव गरेका थिए । दाहालको प्रस्तावमा तत्काल सहमति नजनाएका बाबुरामले पार्टीभित्र एकता पक्षधर नेताहरूको समायोजन समिति बनाउने निर्णय नगर्ने भए केन्द्रीय समितिमै नआउने चेतावनीपछि सो समिति बनाउन तयार देखिएका हुन् । बाबुरामलाई समायोजन समिति बनाउने निर्णय गराउन नेसपाका नेताहरू निरन्तर छलफल र संवादमा जुटेका थिए ।

सहअध्यक्ष श्रेष्ठ भन्छन्- अविश्वास छैन
यता, नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बिचमा अविश्वासको अन्त्य भएको बताएका छन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बिचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताए । उनले भने- ‘मैले हेर्दाखेरी कम्युनिकेशनको ग्याप भएको देखियो । त्यो कम्युनिकेशनको ग्यापलाई फुलफिल गर्ने काम हामीले गरिराखेका छौँ । उहाँहरूको बिचमा तारन्तार छलफलहरु भइराखेका छन् ।’

उनले दुई नेताका बिचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताए । अध्यक्षद्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने उनेको बुझाई छ ।

उनी भन्छन्- –‘मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरूले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नु भएको छ, अब अलग-अलग बसेर होइन, एकताबद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिंगो दुईवटा पार्टी पंक्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मूर्त रूप दिन्छ । यो प्रक्रिया पछाडि फर्किँदैन । अगाडी बढ्छ ।’

पार्टी एकता सम्भव होला ?
अब माओवादीले पनि अध्यक्ष दाहालको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने छ । समायोजन समितिबिच वैचारिक तथा नीतिगत विषयमा छलफल हुनेछ । माओवादीले विशेष महाधिवेशन गरेर पार्टीको नाम परिवर्तन गरेपछि मात्रै दुई पार्टीको एकता हुने बताइएको छ ।

यता, नेसपाले पनि सङ्गठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पु-याउने निर्णय गरेको छ । अभियानका क्रममा सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । त्यसअघि मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने उसले जनाएको छ । माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने नेसपाको तयारी छ ।

नेताहरूका अनुसार आउँदो वैशाखसम्म माओवादीको विशेष महाधिवेशन र नेसपाको राष्ट्रिय सम्मेलन हुनेछ । त्यसपछि दुई पार्टीबिच एकता हुनेछ । त्यसअघि दुवै पार्टीको एकता समायोजन समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने तयारी रहेको नेसपाका नेताको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *