बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् ।
बुधवार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभाबी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताए ।
उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृत्ति गलत भएको बताए । उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरूलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए ।
उनले बदमासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरूको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए । उनले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए ।
उनले कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए । उनले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए ।
उनले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रूपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए । उनले बैङ्कहरूबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरूले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताए ।
उनले भने ‘बिपी कोईरालाले भन्नुभएको थियो । जब सत्यको मुख बन्द हुन्छ त्यसपछि झुटोको थुतुनो चल्छ । थुतुनो चलाउनेसँग किन बोल्ने भनेर चुप बस्यो भने बोल्नेको साम्राज्य चल्छ । बोल्ने मान्छेको कुरा सत्य रहेछ भनेर मानिसहरु पछि लाग्छन् । हामीले सत्य बोल्न छाड्नु भएन । सत्यको मुख खोल्न थालेपछि झुटो थुतुनु बन्द हुन्छ । झुटहरूको मुख बन्द गर्न जरुरी छ । जुन सङ्घर्ष,मेहनत र योगदानबाट लोकतन्त्र स्थापना गरेका छौं । हिजोको समय सुनौलो युग थियो भन्नु गलत हो । त्यो बेला आधा मानिसहरु खाली खुट्टा हिँड्ने गर्थे । तर अहिलेको व्यवस्थाले धेरै परिवर्तन आएको छ । अझै धेरै गर्नुपर्ने हो तर भएको छैन । अहिलेसम्म भएको उपलब्धि यही लोकतान्त्रिक पद्धतिमार्फत सम्भव छ । आज जुन प्रवृत्तिले बोली रहेको छ । यो प्रवृत्तिले हिजो बोल्न दिएका थिएनन् । अहिलेको व्यवस्थाले बोल्न सबैलाई दियो । अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुन्छ । सफल हुँदैन । आर्थिक विषयलाई पनि यसमा जोड्ने गरिएको छ । अहिले विश्व अर्थतन्त्रमा नै शिथिलता आएको छ । नेपालको अर्थतन्त्र कोभिडबाट प्रभावित भयो । महाभूकम्पको असर भोग्यौँ । त्यसका बाबजुद अहिले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको छ । रेमिट्यान्स आइरहेको छ । अहिले नेपालमा पर्यटनहरू सबै भन्दा धेरै आएका छन् । अझ आउने क्रम जारी छ । देशका ठूला सडकमा मात्रै लगानी गर्न सक्यौँ भने पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रूपान्तरणमा ठूलो योगदान गर्छ । बैङ्कहरूबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरूले धेरै लगानी जग्गा,शेयर र क्रिप्टोमा पनि लगानी गरे भन्ने आएको छ । त्यसको अनुसन्धान भइरहेको छ । लगानी गरेको ठाउँबाट प्रतिफल आएन । पैसाको कारोबार नहुँदा बैंकको ऋण तिर्न नसक्दा अन्योल सिर्जना भएको छ । जसले सबै भन्दा ठूलो ऋण लिएको छ । उसैले तिरदिन भनेर हिँडिरहेको छ । ऋण लिन तिरदिन भन्ने रु तर जसले ऋण लिएर गर्दागर्दै पनि समस्यामा परेका छन् ।त्यसलाई राज्यले हेर्छ । तर ऋण लिएर १० ठाउँमा लगाउने ऋण तिरदिन भन्ने हुँदैन ।’
उनले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले लामो सङ्घर्ष, मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताए ।
उनले बोल्नेहरूले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलेको व्यवस्थाले धेरै परिवर्तन आएको बताए । उनले लोकतान्त्रिक पद्धतिमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताए ।
उनले अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताए ।








