कांग्रेस पदाधिकारी बैठक : भूकम्प पीडितलाई थप सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्ने बताएको छ ।
सोमवार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा राहत उद्धार, पुनः निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताए । उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताए ।
उनले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरूले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि छलफल भएको बताए ।
उनले भने ‘भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्पबाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुनः निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धित कोषमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरूलाई परिचालन गर्ने कुरा भएको छ ।’
मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए ।
उनले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए ।
उनले भने ‘हामी लोकतन्त्रमा विश्वास गर्ने सरकार र पार्टी हो । संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको छ । अभिव्यक्ति, विरोध, माग गर्ने स्वतन्त्रता सुनिश्चित छन् । तर एकै ठाउँमा दुई पक्षीय उपस्थित हुने, त्यसबाट आउनसक्ने समस्याहरुकाबारेमा सरकारले नजिकबाट हेरिरहेको छ । सडकको परिस्थिति आउन नदिने, कुरामा सरकार सचेत छ । समाज बाहिर गएर कुनैपनि गतिविधि हुनु हुँदैन । अहिले सामाजिक सञ्जालदेखि हरेक माध्यमको प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् । त्यो त लोकतन्त्रले दिएको हो । अधिकारको लागि जुन पार्टीहरू लडे, जनताहरू लडे, त्यहाँबाट आएको हो । अधिकार प्राप्तिको स्वतन्त्रताका लागि हामी भोलि पनि लड्छौँ । हामीले पाएको अधिकारको प्रयोग गरेर त्यही अधिकारको निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन ।’
अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरू पनि लड्न तयार रहेको बताए ।








