गठबन्धन एक महिना टिक्दैन भन्थे, ११ महिना प्रधानमन्त्री भइसकेँ : प्रचण्ड

सत्ता गठबन्धन पाँचै वर्ष जान्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रधानमन्त्रीले गठबन्धनको एकता धेरै बलियो भएको बताएका हुन् ।

‘यो गठबन्धन पाँचै वर्ष जान्छ । कसैले हल्लाएर हल्लिँदैन’ प्रधानमन्त्रीले भने, ‘मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्रको युनिटी धेरै बलियो छ ।’

आफूलाई एक महिना पनि जाँदैन भन्नेहरू रहेको भन्दै उनले राम्रो काम गर्दा ११ महिनासम्म सहजै आएको बताए ।

‘राम्रो गर्ने हो राम्रो गर्दा गर्दा छोड्नुपरे जनताको घरदैलोमा जाने हो । मैले प्रधानमन्त्री बन्दा पनि यही भनेको थिएँ । भारतमा अटल बिहारी बाजपेयी सबैभन्दा कम १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही कोही १५ दिन पनि भएका छन् । साथीहरूले एक महिना भन्दा धेर जाँदैन भन्थे । तर मैले एक महिना भए पनि राम्रो काम गर्छु भनेको थिए । गर्दै गइयो ११ महिना भइसक्यो अझै बाँचिएकै छ । अझै सुशासनको पक्षमा काम गर्छु ।’

गणतन्त्र र परिवर्तन विरोधीले संघीयता काम छैन भनेर प्रचार गरेको भन्दै अब संविधानले परिकल्पना गरेको अधिकार सबै दिलाउने पक्षमा आफू रहेको उनले बताए ।

हिजोका सामन्तीले संस्कारको कुरा गरेको भन्दै उनले परिवर्तनको पक्षमा सबै दल एक ठाउँमा उभिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =