सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्छौं : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताएका छन् ।
सभापति देउवाले आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएको भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका काँग्रेस उपसभापति धनराज गुरुङले बताए ।
त्यसैगरी सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए ।
महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको पनि कानुनमन्त्री गुरुङले बताए ।
उनले भने ‘एउटा यो शान्ति प्रक्रिया टुङ्ग्याउने सन्दर्भ छ । त्यस सन्दर्भमा महासचिवजीको चासो देखियो । र, त्यसबारे छलफल भयो । नम्बर दुई, यो क्लाईमेट चेन्जले नेपाल अत्यन्तै पीडित देश हो । त्यस सन्दर्भमा पनि छलफल भएको छ । सभापतिजीले चाहिँ यस सन्दर्भमा पीस प्रोसेसको सन्दर्भमा हामीले गरिरहेका छौँ । र, अहिले पिस प्रोसेसलार्ई टुङ्ग्याउनका लागि जुन विल छ, टिआरसी बिल । त्यो चाहिँ संसदको पार्लियामेन्ट कमिटीमा छलफलमा छ । र, हामी छिट्टै टुंग्याउँछौं । र, यसलाई सर्वसम्मत ढङ्गबाटै लिएर जान्छौँ भनेर सभापतिजीले त्यो कुरा राख्नु भयो एउटा । अर्को क्लाईमेट चेन्जको सन्दर्भमा विश्वकै ध्यान केन्द्रित हुनु पर्दछ । हामी सानो देश, सानो मुलुक । तर हामीलाई ठूलो मार परिरहेको छ । त्यस सन्दर्भमा महासचिवजीले ध्यानाकर्षण भएको जनाउँदै यसले नेपाललाई मात्रै नभई भारत, पाकिस्तान, बङ्गलादेश जस्ता छिमेकी मुलुकलाई पनि भविष्यमा गाह्रो पार्छ । किन भन्दाखेरि जब हिमालबाट हिमनदीहरुनै सुक्न थाल्यो भने भोली तपाईँको छिमेकी मुुलुकहरु पनि अपmट्यारोमा पर्छ । त्यसले संसारलाई नै झनै अफठ्यारोमा पार्छ । त्यसकारण यो विषयमा संसारकै ध्यान गएको छ । र, नेपालको मात्रै यो विषय हो भन्ने मलाई लाग्दैन भनेर भन्नु भयो । र, यसमा पूर्ण रूपमा हाम्रो समर्थन रहन्छ भन्नुभएको छ ।’
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बङ्गलादेशलगायतका छिमेकी देशहरू समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूले पूरा साथ रहने बताएका थिए ।








