कतारका राजा थानीको पनि छिट्टै नेपाल भ्रमण हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तमिम विन हमद अल थानीको छिट्टै नेपाल भ्रमण हुने बताएका छन् ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणबाट फर्के लगत्तै कतारका राजा थानीको नेपाल भ्रमण हुने जानकारी दिएका हुन् ।

दशैँ, तिहार लगायतका चाडपर्वको अवसर पारेर शनिवार नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले सरकारको कूटनीतिक सफलताका कारण नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूलो भ्रमण हुन लागेको दाबी समेत गरे ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आइतबार राति (भोलि) नेपाल आउँदै छन् । प्रधानमन्त्री दाहालले उनको भ्रमणले नेपालको प्रतिष्ठा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

उनले भने ‘यो विषयमा मैले सुरुदेखि नै प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै मैले राजनीतिक दलहरूको बीचमा सहमति गराउन प्रयास गर्दै आएको छु । हिजो प्रतिपक्ष दलका नेतासँग भएको कुरा पनि त्यही प्रयासको नयाँ कडी हो । र, मलाई लाग्छ–बिस्तारै समझदारी बन्दै जान्छ भन्ने म देख्छु । र, यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमणहरूको सन्दर्भमा खासगरी भारत, अमेरिका, चीनको भ्रमणका सन्दर्भमा जुन कूटनीतिक पहलहरू भए, त्यसैको परिणाम ठान्छु मैले संयुक्त राष्ट्र संघका महासचिव यहाँ आउँदै हुनुहुन्छ । ३ दिन उहाँको पूरै भ्रमण छ । एउटा, उहाँले जलवायु परिवर्तन सम्बन्धी विषयमा सम्बोधन गर्नुहुन्छ । शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे पनि एलडिसी । किनकि यो पटक हामी एलडिसीको चियरम्यान भएको हैसियतले मैले संयुक्त राष्ट्र संघको महासभामा मैले गम्भीर ढंगले नै कुरा उठाएको थिए । मलाइ लाग्छ–हाम्रो कूटनीतिक सफलताकै परिणाम महासचिव नेपाल आउँदै हुनुहुन्छ । र, हामी सबै नेपालीहरूले खुला हृदयले उहाँलाई स्वागत गर्दैछौं । र, त्यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मैले ठानेको छु । र, यो पटक उहाँ छिट्टै फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ । यो सबै हाम्रो कूटनीतिक सफलताकै परिणाम हो भनेर हामीले बुझ्नुपर्दछ ।’

प्रधानमन्त्री दाहालले ठूला दलहरूले मिलेरै मुलुकलाई अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =