पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गर्ने उद्योग मन्त्री रिजालको उद्घोष

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गीकरण गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस, सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गरिने बताएका हुन् ।
साथै पर्यटनलाई उद्योगको रूपमा अगाडि बढाउन नसके देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उनले बताए । हाल पर्यटन क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरेको छ । तर देशलाई आर्थिक रूपमा अघि बढाउने हो भने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने उनको भनाई थियो ।
यसअघि नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा मन्त्री समक्ष माग गरेको थियो ।
केही समय अघि महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वको टोलीले उद्योग मन्त्रीलाई भेटी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको थियो ।
साथै उक्त समितिले होटलमा निजी क्षेत्रको ठूलो पुँजी लगानी गरी लाखौँलाई
रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कूल गार्हस्थ्य उत्पादनमा समेत टेवा पुर्याएको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन माग गरेको थियो ।
मन्त्रीको प्रतिबद्धता र उद्घोष अनुरूप पर्यटन व्यवसाय उद्योग क्षेत्रमा वर्गीकरण भएमा पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै हरित पर्यटनमार्फत ठूलो मात्रामा विदेशी पर्यटक भित्र्याउन सकिने समितिका सभापति बस्नेतले बताए ।
अबका दिनमा होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन कूल बिक्रीको ५ प्रतिशत रोयल्टीको व्यवस्थालाई हटाइनुपर्ने बताए ।
‘रोयल्टी बापत ५ प्रतिशत मात्रै शुल्क पठाउन पाउने व्यवस्थाले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ उनले भने,’ ‘अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’








