नेपालीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : रामहरी खतिवडा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस सांसद रामहरी खतिवडाले सरकारले विशेष विमानको व्यवस्था गरेर भएपनि इजरायलको जारी द्वन्द्वमा फसेका नेपालीहरुको उद्धार गर्नुपर्ने बताएका छन् ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबै राजनीतिक दलहरुले पनि सो द्वन्द्वमा फसेकाहरुको उद्धारका लागि एकतावद्ध भएर पहलकदमी लिनुपर्ने बताए ।

सांसद खतिवडाले स्वदेशमा फर्कन चाहने नेपालीहरुलाई पनि सरकारले सुरक्षित ढंगले स्वेदश फर्काउनुपर्ने बता ए ।

सांसद खतिवडाले मारिएकाहरुको शब नेपाल ल्याउने काममा पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरे ।

उनले भने– ‘राष्ट्रिय इस्यूहरुमा नेपालका राजनीतिक पार्टीहरु एक ठाउँमा छन् भन्ने सन्देश दिनुपर्दछ । तुरुन्त सरकारले विशेष प्लेनको व्यवस्था गरेर नेपाल आउन चाहने झन्डै ४ हजार ५ सय नेपाली रहेछन् । आउन चाहनेलाई सुरक्षाको प्रवन्ध बनाई ल्याउनपर्दछ । र, यो दुखद् घडीमा सारा नेपाल एक ठाउँमा छ भन्ने सन्देश दिनुपर्दछ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवं पूर्वश्रममन्त्री रघुजी पन्तले इजरायलमा मारिएका नेपालीहरुको स्मृतिमा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरे ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले इजरायलमा मारिएका परिवारलाई उचित क्षतिपूर्ति दिन र इजरायल सरकारसँग पनि त्यसका लागि कुटनीतिक पहल गर्न सरकारलाई सचेत गराए ।

सांसद पन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन पनि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले घाइतेहरुको उपचारको अभाव हुन नदिन पनि सरकारलाई संवेदनशील बन्न आग्रह गरे ।

सांसद पन्तले भने, ‘इजरायलमा नेपालीहरु मारिएको दुखद् घटनाप्रति सरकार संवेदनशील र जिम्मेवार भएर तदारुपताका साथ सरकार उनीहरुको उद्धारको काममा लाग्नु पर्दछ । १० जना नेपालीहरु सो आक्रमणमा मारिएका छन् । यो अत्यन्त दुखद् घटना हो । यो राष्ट्रिय शोकको घडी पनि हो । त्यसैले यस घटनाप्रति गम्भिर दुःख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोकको घोषणा गरोस भन्ने माग गर्दछु । मारिएका नेपालीहरुको शव सुरक्षित र यथाशीघ्र स्वेदश ल्याइयोस् । र, ससम्मान दाहसंस्कारको सम्पूर्ण व्यवस्था सरकारले गरोस भन्ने माग गर्दछु । दिवंगत युवाहरुका परिवारलाई तत्काल नेपाल सरकारले उचित क्षतिपूर्ति प्रदान गरोस् । र, इजरायल सरकारसँग पनि पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन तत्काल कुटनीतिक वार्ता थालोस् । घाइते भएका नेपालीहरुको राम्ररी उपचार गर्न र बेपत्ताको खोजी गर्न इजरायल सरकारको तत्काल ध्यानाकर्षण गराओस् । स्वदेश फर्कन चाहने नेपालीहरुलाई तत्काल स्वदेश फर्काओस् । आवश्यक पर्छ भने नेपाल एयरलाईन्सको जहाज तत्काल पठाएर भएपनि सरकारले नेपालीहरुको उद्धार गरोस ।’

सांसद पन्तले इजरायलबाट स्वदेश फर्कन चाहनेहरुलाई ल्याउनका लागि सरकारले तत्काल जहाज नै पठाउने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =