प्रधानमन्त्रीले बोलाए क्याबिनेटलगत्तै सर्वदलीय बैठक

काठमाडौँ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा इजरायलको द्वन्द्वमा परेका नेपालीबारे आवश्यक छलफल र आवश्यक निर्णय गरिने भएको हो ।
दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । दुई दिनदेखि ४७ जना बंकर रहेको बताइन्छ । मन्त्रिपरिषद्ले यस घटनाबारे आवश्यक निर्णय लिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लगत्तै सर्वदलीय बैठक बोलाएका छन् । साँझ ५ बजेपछि बस्ने बैठकमा पनि इजरायल आक्रमणमा परेका नेपाली नागरिकबारे राय लिइइने बताइएको छ ।
यसैबीच इजरायलमा जारी द्वन्द्वमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक बसेको छ । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक बसिरहेको हो ।
सरकारले आइतबार साउदको नेतृत्वमा इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूका स्थिति जानकारी लिन संयन्त्र बनाएको थियो । बैठकमा मन्त्रालयका सचिव, सहसचिव, सुरक्षा निकायका प्रतिनिधि सहभागि छन् । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका कामहरु गर्नेछ ।
इजरायलमा ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले संसदलाई जानकारी दिएका थिए । प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिएका छन् ।








