स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसदहरूको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् ।
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले स्वास्थ्यकर्मीहरूको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताए ।
भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानुन भएपनि कार्यान्वयन नभएको बताए । उनले स्वास्थ्यकर्मीहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
सांसद भण्डारीले भने ‘नेपालको स्वास्थ्य क्षेत्रमा समस्याहरू छन् । समस्याहरू जनशक्तिको छ, दरबन्दी बढ्दैन । जुन कुरा हामीले बारम्बार कुराहरू उठाइरहेका छौँ । सङ्घ, प्रदेशका अस्पतालमा स्वास्थ्यकर्मीहरूको संख्या बढाइदिने हो भने जनताको समस्या सम्बोधन हुन्थ्यो । जनताको चाहना अनुसार काम गर्न सकेनौँ । प्रशासनका मान्छेले दरबन्दी सृजना गर्दा समस्या आएको हो । हामीले अस्पताल दिन्छौँ तर, त्यसलाई स्रोत, साधन हेर्दैनौँ । चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिँदैनौँ । हाम्रो मोनिटरीङ छैन । चिकित्सा शिक्षा आयोगले दरबन्दी दिनसक्छ विद्यार्थी संख्या दिन्छ तर, उपकरणको कुरा गर्दैन । त्यहीबाट यो देशमा स्वास्थ्यको समस्या परेको छ । हामीसित जुन कानुन छ, कानुनले काम नै गरेन । अहिले त झन् हामी अप्ठ्यारोमा परेका छौँ । जसले जतिसुकै अपराध गरेपनि छोडिदिने कुराले अपराधी प्रवृत्ति बढेको छ । सरकारले डाक्टर र इन्जिनियरलाई प्राथमिकता दिनुपर्छ । किनभने हामीले फस्ट ब्रेन भन्छौँ । एउटाले मुख्र्याईं गरेको भन्दैमा अर्कोले मुख्र्याईं गर्नुहुँदैन । दोषीलाई कानुनी कारबाही हुनुपर्छ । तपाईँहरूले अस्पताल बन्द गरिदिँदा धेरै बिरामी मर्न सक्छन् । राज्यका कमजोरीका कारण धेरै डाक्टरहरू नेपाल बस्न पाएका छ्रैनन् । स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’
समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरूको ऐन कानुन सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए । उनले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानुन, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताए । उनले समस्याको हल भनेकै वार्ता भएको भन्दै चिकित्सकलाई कुट्ने कुरा अक्षम्य रहेको बताए ।
उनले भने ‘कर्तव्य ड्युटी हो । आफ्नो जिम्मेवारी हो । ऐन कानुन सुधार्न वार्ताको टेबलमा बस्नुपर्छ । अरु तरीकाले गरे राज्य अराजकतातिर जान्छ । वार्तामार्फत जाँदा पहिलो कानुनमा सुधार, नियमावली सुधार, कार्यविधिमा सुधार के के हो त्यो टेबुलद्वारा पहलकदमी गर्न अनुरोध गर्न चाहन्छु । कोही व्यक्तिले सङ्गठित तरीकाले अपराध गरेको छ भने थुन्नुपर्छ । समस्याको हल भनेको वार्ता हो । वार्ताको टेबुलबाट समस्याको हल हुनुपर्छ । गृह सचिवलाई अनुरोध छ, अपराध गर्ने जो सुकैलाई कारबाही गर्नुहोस् । कुट्ने कुरा अक्षम्य कुरा हो । हजार वटा फोन आएपनि अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ । ’
उनले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।








