‘आफ्नो अनुहार ऐनामा हेरेकी छस् ?’

स्कुल पढ्दा म ‘टपर’ त थिइन । तर पनि सायद ज्ञानी विद्यार्थी भने थिएँ झैँ लाग्छ ।

धेरै बोल्दिन थिएँ । सोध्न सक्दिनँ थिएँ । तर पनि जिज्ञासु भने थिएँ । मनमनै थरी थरीका कथा कहानी बनाउँथे । के-के केर्थेँ कापीको पछाडितिरका पानामा । तर कहिल्यै साथीहरूलाई सुनाउँदिन थिएँ ।

कहिले कसो साथीहरूसित खेलहरू भने खेल्थेँ । तर खेलकुद प्रतियोगितामा कहिल्यै सहभागी हुँदिन थिएँ । म जति आफूसित रमाउँथे त्यति सायद अरू कसैसँग पनि रमाउन अनि खुल्न सक्दिनथेँ ।

साथी नै नभएका होइनन् तर खै किन धेरै कुराहरू मैसित थुन्निएर बसेका हुन्थे ।

अलि अलि चञ्चल पनि थिएँ तर धेरै समझदार थिएँ । लजालु थिएँ वा अन्तर्मुखी ? खासै जान्दिनँ थिउँ ।

तर म यस्तै थिएँ ।

त्यसपछि स्कुलमा एउटा घटना भयो । जसले मेरो सारा कुरालाई बिथोलिदियो  ।

विद्यालयमा केही दिन पछि वार्षिकोत्सव कार्यक्रम हुने कुरा चलिरहेको थियो । साथीहरू सबै आ-आफ्नो खुबी र इच्छा भएको कुरामा सहभागी हुन निकै हौसिएका थिए । मलाई अरू बेला त्यस्तो केही गर्न मन नलाग्ने । त्यो बेला खै कसरी हो केही न केहीमा त भाग लिन्छु जस्तो भएको थियो । के मा लिऊँ ?

मनले जवाफ दिएको थियो ‘अलिअलि गाउन जानेकी छस् । गायनमा दे ।’

‘म पनि यसपालि त गीत गाउनेमा भाग लिन्छु’ मैले आफैँसँग कुरा गरेँ ।

मलाई त्यो निर्णय लिन गाह्रो भने भएको थियो । तर अहिले भन्न सकिन भने कहिलेसम्म मैले आफूलाई लुकाइ राख्नु भन्ने सोचेँ । म पनि गाउन सक्छु भनेर मलाई थाहा थियो । अरूलाई भनिनँ भने कहिलेसम्म आफैँभित्र आवाज दबाइबस्छु ? फेरी सोचेँ ‘सबै थाहा दिने यो राम्रो मौका हो ।’

‘मैले राम्रो गाएँ भने सबै सर म्याम अनि साथीहरूले पनि प्रशंसा गर्नेछन् ।’

यस्तै यस्तै कुरा मनमा खेलाउँदै आफैँ आफैँ त्यस्तै मक्ख परेकी थिएँ । तर साथीहरूलाई कसैलाई पनि भनेकी थिइनँ । यसपालि म गीत गाउनेमा भाग लिन्छु भनेर सबैलाई म स्टेजमा चढेको बेलामा मात्र थाहा होस् भन्ने मैले चाहेकी थिएँ ।

त्यस बेला म कक्षा सातमा पढ्थेँ । कक्षामा सधैँ पहिलो बेन्चमै बस्थेँ । स्कुल पढ्दा यसै पनि म कहिल्यै पछाडि बसिनँ ।

त्यो दिन पनि म पहिलो लहरमा नै बसिरहेकी थिएँ । कक्षामा सरले विज्ञान विषय पढाउँदै हुनुहुन्थ्यो । त्यो सायद चौथो पिरियड थियो । त्यसपछि इन्टरभल हुनेवाला थियो ।

ठिकै त्यसै बेला ढोकानेर पियन बाजे आउनुभयो । उहाँ आउँदा सधैँ केही न केही भन्ने कुरा हुन्थ्यो ।

उहाँले सरलाई सूचना छ सर भनेर भन्नुभयो । सरले ‘आस तम आफुइ आइ बटी सुणा’ (तपाईँ आफैँ भित्रै आएर सूचना पढिदिनुस्।) भन्नुभयो ।

किताबमा लेखिएको कुरा पढ्दा बाहेक प्रायः म पढ्ने स्कुलमा स्थानीय (डोटेली भाषा) भाषा नै बढी बोलिन्थ्यो ।

पियन बाजेले सरसर्ती सूचना पढेर सुनाउनु भयो ।

‘कोइ गीत गाउना माइ नाच्चा माइ और नाटक खेल्लाइ भाग लिने भया ऐलै झाइ बटी नाम टिपाइ हाल ।’ (विद्यालयको वार्षिकोत्सव कार्यक्रमका लागि गायन, नृत्य अनि अभिनयमा भाग लिन इच्छुक विद्यार्थीले कृपया तुरुन्तै नाम टिपाउनु होला ।)

सूचना सुनाएर पियन बाजे कक्षाकोठाबाट बाहिर जानुभयो । मलाई उहाँले त्यो सूचना मेरै लागि सुनाएर जानुभएको जस्तो लाग्यो । तर कक्षाकोठामा भने उहाँ जानासाथ झ्याउँकिरी जस्तो अस्पष्ट झ्याँ ….स्याँ …. भएर कक्षाको वातावरण नै होहल्लामय बन्यो । विद्यार्थीहरू हतार हतार कक्षाकोठाबाट कुद्न थाले । आ- आफ्नो नाम टिपाउन थाले ।

विज्ञान सरले उनीहरूले त्यस्तो गरुन्जेल कुनै कुनै आपत्ति जनाउनु भएन ।

मैले फेरी एकपल्ट आफूले गाउन लागेको कुरा सम्झिएँ । अन्तिमपल्ट फेरी जाऊँ कि नजाऊँ भयो । तर मैले आफूलाई जितेँ । बेन्चबाट अरूजस्तै हतारिँदै उठेँ अनि बेन्चबाट बाहिर निस्किन लागेँ ।

 ‘क्याइ है कलिएगी? काँ है झाने?’ (किन उभिएको? कहाँ जान लागेकी ?) म बेन्चबाट निस्किसक्नै लागेकी थिएँ, सरले मलाई रोक्दै भन्नुभयो ।

‘म पनि गीत गाउनेमा नाम टिपाउन जान लागेको’ मैले टाउको पनि उँभो नगरी जवाफ दिएँ ।

त्यसपछि सरले यस्तो जवाफ दिनुभयो जुन मैले सोचेको थिइनँ । उहाँले भन्नुभयो,

‘कबै ऐना माइ आफ्नो थोपडा हेरिराइछै? गाउन्या अनारै छ । (कहिल्यै आफ्नो अनुहार ऐनामा हेरेकी छस् ? गाउने अनुहारै छ ?)

म रोकिएँ । बेन्चबाट निस्किनै सकिनँ । म निरीह झैँ निःशब्द भएर झुकेकै टाउको डेस्क माथि राखेर दुवै हातले अनुहार छोपी भक्कानिएर रोएँ । तर डाको बाहिर छोडिनँ ।

मलाई बडो अपमानित र अपहेलित भएको महसुस भयो । आफूलाई कुनै ठुलो ढुङ्गाले बाटो छेकेको जस्तो भयो ।

त्यसपछि मैले गाउन सकिनँ । निक्कै लामो समयपछि पनि सकिनँ । मलाई स्टेजमा चढ्न धेरै पछिसम्म डर लागिरह्यो ।

आज त्यो पल बितेको धेरै समय बितिसकेको छ । तर पनि सम्झिँदा आफूलाई कस्तो निरीह पाउँछु । कसैगरी पनि सम्झिन मन नै लाग्दैन । मुटु चसक्क पो भइजान्छ । लाग्छ नि लाग्न त अब के मुटु दुखाउनु बितिसकेको कुरालाई सम्झिँदा । तर कहिले कसो कसैले ‘तपाईँले बिर्सन नसकेको वा सम्झिँदा भावुक हुने कुनै कुरा के हो’ भनेर सोध्दा मेरो मस्तिष्कले नसोचेरै यही कुरा ल्याइ हाल्दो रहेछ ।

कलिलो मस्तिष्कमा लागेको घाउ सधैँ भरी आलै रहने रैछ ।

अहिले पनि म सोच्छु, ‘के दोष मेरो ?’

‘दोष कसको हो ?’

सायद दोषी त ती शिक्षक पनि थिएनन् कि? दोषी उहाँको मनोवृत्ति थियो कि । उहाँले सिकेको सिकाइ प्रणाली, विधि र पद्धति पो थियो कि । त्यो के कुरा थियो जसले एउटा विद्यार्थीलाई हौसला दिनुको साटो बाहिरैबाट हेरेर रोक्ने उहाँलाई बनायो ।

जसले उहाँको व्यवहार त्यति कुरूप बनायो । जो सायद अझै परिवर्तन भैसकेको छ वा छैन थाहा छैन ।

शिक्षक त गुरु हुन् नि, जसले पढाउने घोटाउने मात्रै होइन जीवनको दिशा निर्देश पनि गर्नुहुन्छ । तर के हामीले शिक्षा लिने शिक्षालयमा सिकाइ हुने प्रणाली र सिकाउने शिक्षक सबै सही छन् त ?

सबै गलतै पनि पक्कै छैनन् तर म चाहन्छु मैले जे भोगेँ त्यो कुनै पनि कलिलो मस्तिष्कमा नपरोस् ।

कहिल्यै नपरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *