मकालु ब्लग

मलाई आगोसँग डर लाग्छ

२०६२ चैत्र महिनाको कुरा ।

सङ्खुवासभा जिल्ला साबिक खराङ गाविस वडा नं ४ हाल चैनपुर नगरपालिका वडा नं १० लेवारीङको फेदमा अवस्थित सुन्दर टाहार गाउँ टोलको परिवेश । शिशिर ऋतुलाई बिदाइ गर्दै वसन्त प्रवेश गर्न लागेको समय थियो । उजाडिएका रुखहरूमा पाउला भरिँदै थिए । पृथ्वी बिस्तारै आफ्नो हरियाली लयमा फर्किँदै थियो । शिशिर सगैं रुखो बनेका जीवनहरूमा प्राण भरिन लाग्दाको उमङ्ग हेर्न लायकको थियो । फक्रिएर हाँसिरहेका फूलहरूको सुवासले अझै सुमधुरता थप्थ्यो ।

त्यो वर्षकै अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन थियो । भोलिपल्ट नयाँ वर्ष धूमधाम सँग मनाउने उद्देश्य अनुरूप घरका सबै जना तौली धान रोपाइँको मैझारो गर्न बेसी जानु भएको थियो । रोपाइँको रौनक हेर्न म हरेक दिन बेसी जान्छु भनेर जिद्दी गरिरहन्थे तर अप्ठ्यारो बाटो खोला तर्दै जानु पर्ने भएकोले मलाई बेसी सम्म जाने मौका बिरलै मिल्थ्यो । त्यसैले मम्मीले मलाइ ‘यता उता नडुली हजुरआमालाई सकेको काममा सघाउनु अनि बहिनीको पनि हेरचाह गर्नु’ भन्दै आफू खेत जानु हुन्थ्यो । फुपू भर्खर चार महिनाको सुत्केरी हुनुहुन्थ्यो त्यसैले भान्जीको पनि हेरचाह गर्ने मेरो थप जिम्मेवारी हुन्थ्यो ।

चार महिना उमेरकी मेरी भान्जी कोक्रामा आफ्नै धुनमा मस्त निदाइरहेकी थिइन । बहिनी र म त्यही मौका छोपेर एक छिन खेल्ने सुर गर्दै थियौ तर सुरु गर्नै नपाइ हजुरआमाले बारी बाट ‘खुर्सानी र टमाटर टिप्न झट्टै आओ त’ भनेर बोलाइहाल्नु भयो ।

नमान्दा गाली खाने पक्का भएकोले हामी सँग अर्को उपाय थिएन । लुरुलुरु बारी तर्फ लाग्यौ । फुपू पनि घरबाट आधा घण्टा दुरीमा रहेको पधेरो जान लाग्नु भयो ।

हजुरआमा टमाटर टिप्न तल्लीन हुनुहुन्थ्यो । म पनि ध्यान लगाएर काम गर्दै थिए । बहिनी भने सानी भएकीले उसलाई भने काम गर्ने छुट थियो । सानो मान्छे भएको फाइदा त यही हो । म पनि यदि म भन्दा ठुलो मान्छेसँग हुन्थेँ भने त्यसै गर्न पाउँथे होला । 

उ त्यसै यता उता चहार्दै थिई । त्यतिकैमा उसको आँखा पल्लो डाँडातिर हेर्दै अडिए । मैले पनि त्यता हेरेँ । डाँडामा आगो सल्किएर धुवा उडिरहेको थियो ।

‘आमा त्यहाँ हेर्नु त पल्लो डाँडामा आगो लागेछ, ल्या अब त्यो आगो उडेर यता आयो भने हाम्रो घर पनि डढ्छ होला ।’ उसले आत्तिँदै भनी ।

‘यो केटी पनि के के अवासी बोल्छे बोल्छे । त्यति पर लागेको आगो कहाँ यहाँ सम्म आइपुग्छ।’ आमाले केही झस्किएको भावमा धुवाँ भएको डाँडातिर हेर्दै भन्नुभयो । तर आइपुग्दैन भने पनि उहाँको अनुहारमा डर पसेको भने थियो अचानक हतार गरेपछि मान्छेलाई केही भएको थाहा भइहाल्छ ।

उहाँ हतार हतारमा नै खोर्सानीको डालो बोकेर घर तिर लाग्नु भयो ।

बहिनी र म केही नबोली अवाक् भएर हेरि मात्र रह्यौ ।

हामीलाई त्यति बेला खेल्ने मौका थियो । हजुरआमाले बोलाउनुभएको पनि थिएन । तर डाँडामा देखिएको आगो र हजुरआमाको हतार देखेर हाम्रो मनमा पनि बेचैनी हुन थाल्यो त्यसले हामीलाई पनि अडिएर बस्न दिएन । हामी घर तिरै दगुर्‍यौ । नजिकैको कसैलाई डर लागेपछि त्यसले अरूलाई पनि समाउँदो रहेछ । 

चैत्र महिना त्यसै सुख्खा र उजाड त्यसमाथि घरी घरी ठेगाना हराए जसरी आउने हुण्डरीको लहरले भने मनमा अस्थिरता र बेचैनी जन्माउँथ्यो । कुनै पनि हालतमा आगलागी जस्तो चरम पिडा भोग्न हामी तयार थिएनौ । अझ म त भर्खर चार पुगेर पाँचौँ वर्षमा  मात्र टेक्दै थिए । स्कुल जाने उमेर नै नभइसकेको म विपत्तिहरूको सामना गर्न कहाँ काबिल थिए र?

हुन त हाम्रो गाउँको भूगोल पनि आगलागी जस्तो विपत्तिले सजिलै टिप्न सक्ने खालको थियो । तल अप्ठ्यारा अक्कर भिरहरू, भिरमा सुकेर जिरिङ्ङ भएका बुट्यान र खरहरूमा छ्यास्स आगोले भेट्दा सजिलै माथिको टारमा खरको छानो भएका घरहरू सजिलै जल्न सक्थे ।

‘हामी हरेक वर्षको हिउँदमा आगलागीको पिडा भोग्नु पर्ने हो कि भनेर सशङ्कित भईरहन्छौ ।’ हजुरआमा यो कुरा भनिरहनुहुन्थ्यो ।

दिउसोको चार बजेको हुँदो हो । हावाहुरी बेस्सरी चलिरहेको थियो ।

घरको सिकुवामा बसेर हामी मकै छोडाउँदै थियौ । डाँडामा लागिरहेको आगो कसरी कसरी फैलियो त्यो हामीले थाहा पाएनौ तर हावाहुरी सँग लय मिलाउँदै आगो यति छिटो गाउँ सम्म आइपुग्यो कि एकै छिनमा गाउँको सबै भन्दा छेउको घर अर्थात् हाम्रो घरको गाईबस्तु बान्ने गोठ हुँदै मूल घरको धुरीमा आगो देखा पर्न थाल्यो । डाँडामा लागेको आगो हावाहुरीले घर सम्म ल्याएछ सायद । आफ्नै सुरमा मकै छोडाइ रहेका बहिनी र मैले सल्किँदै गरेको आगो देखि हाल्यौ, बहिनी चिच्याउँदै आत्तिँदै  हजुरआमालाई बोलाउन तिर कुदी ।

हजुरआमा बहिनीको चिच्याहट सुनेर घर बाहिर निस्कनु भयो । छानामा बलिरहेको आगो देखेर आत्तिँदै हारगुहार गर्न थाल्नु भयो ।

‘आगो लागी हालेछ नि अब सबै सक्किने भयो हे भगवान्’ भन्दै यताउता कुद्न थाल्नु भयो । गाई बस्तु पनि एकनासले ड्वाँड्वाँ गर्न थाले । यो कोलाहलले गर्दा कोक्रामा सुतिरहेकी भान्जी एकनासले रुन थालिन । अत्यासमा हामीले भान्जीलाई समेत बिर्सी सकेका रहेछौ । त्यति बेला सम्म पनि फुपू पधेरा बाट आइपुग्नु भएको थिएन । आगोले विशाल रूप धारण गर्दै गयो। झुर्रीएको खरको छानोमा सल्किन के बेर लाग्थ्यो र? आत्तिँदै भए पनि हामीले सक्ने जति सामान घर बाहिर निकाल्न थाल्यौ । तर अनेक प्रयत्न गर्दा पनि मुख्य दराज जहाँ गहना र पैसा राख्ने गरिन्थ्यो त्यसलाई निकाल्न भने हामी असमर्थ रह्यौ । हतार परेको बेलामा चाहिने कुरा फरक हुने रहेछन् ।

एकै छिनमा फुपू डोकोमा पानीको घैँटो लिएर आइपुग्नु भयो ,उहाँ आइपुग्दा सम्म लगभग छानो भाग जति जलिसकेको थियो । आफूले ल्याएको पानीको घैला डोकोबाट फुत्त झिकेर फुपूले छानो तिर छ्याप्न थाल्नु भयो । फुपूले ल्याएको पानी घरमा लागेको आगो निभाउन त परै जाओस् मनमा लागेको त्रासको आगो निभाउन पनि पर्याप्त थिएन ।

खाने पानी लिनका लागि पनि एक  घण्टा टाढा जानु पर्ने ठाउँमा पानीले आगो निभाउनु कल्पना बाहिरको कुरा थियो । केही बेरमा आगो थप सल्किँदै गयो । बेसी जानु भएको ममी हजुरबुबा अनि गोठालो, मेलापात जानु भएका गाउँका अन्य सबै जना पनि भेला हुन थाल्नु भयो । हजुरबुबाहरू आइपुग्दा सम्म गोठको तल्लो भाग जल्न बाकी थियो, त्यहाँ भएका गाईबस्तुको दाम्लो काट्न हजुरबुबा सफल हुनुभयो ।

मम्मी भने पैसा गहना भएको दराज निकाल्न आगो लागेकै ठाउँ तिर हुत्तिन खोज्दै हुनुहुन्थ्यो तर उहाँको प्रयास असफल भएपछि ‘लौन नि यो के भयो’ भनेर बर्बराउदै रुन थाल्नु भयो । हेर्दा हेर्दै आँखै अगाडि हाम्रो घर गोठ सबै जलेर खरानी भयो । बर्सभरिलाई सञ्चित गरी राखेको अन्न आँखै अगाडि खरानी बन्यो। हामी आगो आलाप विलाप गरी रह्यौ आगो आफ्नै धुनमा बलिरह्यो ।

हुण्डरी चलिरहने समय भएकोले एक घरको आगो अर्को घरमा सल्किन समय लागेन । त्यसनिरै एक घर दुई घर हुँदै आगोले हरेक घर जलाउँदै लग्यो र जल्ने घरहरूको सङ्ख्या १३ पुग्यो । घरहरू ह्वारह्वारती जली रहे । आकाश बाक्लो धुवाले ढाकिँदै गयो । आगोले उग्र रूप धारण गर्दै जान थाल्यो । कतै अन्न डढेको गन्ध थियो त कतै आगोमा परेका गाईबस्तुको चित्कार सुनिन्थ्यो । धन्न दिउसोको समय भएकोले मानवीय क्षति भने हुन पाएन ।

आगो निभाउन अनेक प्रयास नगरेको हैन तर पिउनका लागि पनि पानी नै नभएको ठाउँमा हाम्रा आँखाबाट बगेका आशुले आगो निभाउन सम्भव थिएन । आगोले घर जलाउँदाको उज्यालो छरिएको हाम्रा अघि छरिएको थियो तर सबैका मुहारमा सन्नाटा र अँध्यारोले ढाकिएको थियो । म र मेरी बहिनी आँखा भरी आशु लिएर टुलुटुलु यी सबै दृश्य हेर्दै थियौ ।

एकै छिन अघिसम्म वसन्तको लाली लाएर नयाँ वर्षको आगमनमा हाँसिरहेको मेरो गाउँ एक छिनमा घाइते बन्यो । केही बेर अघि सम्म घरहरू उभिएर एक आपसमा गफ गर्दै थिए तर केही छिनको अन्तरालमा डढेका काठ र भित्ताहरू मात्र देखिन थाले । करिब दुई घण्टाकै अन्तरालमा हामी सबै थोक सकिएर खुला आकाशको शरणमा आइपुग्यौँ । बारिका डल्ला नै हाम्रो ओछ्यान बने । भोको पेट लिएर निदाउन हामी बाध्य थियौ ।

नयाँ वर्षको उमङ्ग पनि घर सङ्गै जलेर राग भयो हामी । हाम्रो हर्ष घर सगैं जलेर सकियो । हाम्रो लागि भोलि पल्ट नयाँ वर्ष हैन राहतका सामाग्री आउने वाला थिए । त्यो रात आकाश झलमल्ल थियो तर हाम्रो जीवन अन्धकारमा धकेलिएको थियो । हामी आफ्नै अन्धकारमय जीवनको प्रत्यक्षदर्शी थियौ ।

म धेरै रोए, धेरै चिच्याए । आफ्नै आँखै अगाडी घर ती सारा घरहरू जलेको दृश्यले म काँपिरहेको थिए । त्यो कोलाहल, त्यो चिच्याहट, त्यो आगोको राप, त्यो भयावह स्थितिले भर्खर विद्यालय जाने उमेर हुनै लागेको मेरो बाल मनोविज्ञानमा गहिरो चोट लागेको थियो ।

त्यसैले आज पनि म आगो र धुवा देख्दा झलझली घर जलेको सम्झिन्छु । कहिलेकहीँ अझै पनि सपनामा घर जलेको देखेर झस्किन्छु ।

आगोले धेरैको जीवन बरबाद पार्न सक्छ । घर सम्पत्ति मात्र अन यसले जिन्दगी नै पनि डढाइदिन सक्छ खुसीका आयामहरु नै लुटिदिन सक्छ ।

मेरो मस्तिष्कमा आगलागीको गहिरो छाप छ ।

त्यसैले मलाई आगो सँग डर लाग्छ र लागिरहन्छ ।

 

प्रतिक्रिया

One thought on “मलाई आगोसँग डर लाग्छ

  1. त्यसताका को घटना साच्चै हृदयबिदारक थियो। आगो संगै धेरैका सपना र खुसि जले। सुबाश भाइ स्कुलमा भर्ना हुने उमेरको भएको हुनुपर्छ त्यति सानो उमेरमा पनि घटना भने भाइको वाल मानसपटलमा अमिट छाप वनेर रहेको पाइयो। घटना पिडादायी भएनि भाइको लेखनशैलि र शब्द चयन अति मिठासपुर्ण छ।जे होस म घटनाको प्रत्यक्षदर्सि भएकोले भाइको लेखले पुरानो घटना स्मरण गरायो। आगमि दिनमा पनि भाइद्वारा सृजित यस्तै लेख ,रचना पढ्न पाइयोस शुभकामना।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *