मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु क्रियाशील छन् : ओली (भिडिओ)

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताएका छन् ।
जात-जात, वडा-वडा, पालिका-पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो ।
तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद नभएको पनि बताए ।
ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रूपमा काम गरिरहेको पनि स्मरण गराए । तिज पर्वले महिलाहरूमा सबैभन्दा बढी खुसीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुसीको कुरा भएको पनि बताए ।

ओली भन्छन्, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसाबले विकास गरिएको होला । अर्को चाडपर्वको रूपमा विकास गरिएको होला । यसको अन्ततर्य चाही के हुन्छ, सारतत्व चाहिँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दसैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो । दसैँमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आर्सीवाद लिनै पर्छ । त्यस कारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरू दसैँमा । सबै जातका, सबै थरका, बाटो वारीका, बाटो पारीका, खोला वारीका, खोला पारीका, डिल वारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान् । यसमा पिर गर्नेहरू पनि छन् अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरु पनि छन् । चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुसीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसै गरी आज मनाउँदैछौं ।’
ओलीले चाडपर्वहरूलाई नेपालीहरूले उत्सवको रूपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
सबै जात-जाति एकैठाउँमा भएको मन नपराउनेहरुको मन भतभति पोलिराखेको छ : केपी ओली #makalukhabar#kpoli pic.twitter.com/NAVq8Cg4Oc
— Makalu Khabar (@makalukhabar) September 9, 2023










