नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताएका छन् ।

शुक्रवार लगानी बोर्डको वार्षिकोत्सव समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि एफडीआईलगायत निजी लगानी बढाउन निरन्तर काम गरिरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले नेपाल लगानीको आकर्षक गन्तव्य भएको सन्देश विश्वभर फैलाएकोमा खुसी व्यक्त गरे । उनले नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भएपनि कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्रै आकाङ्क्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गरे ।

१६ औँ आवधिक योजनाको मस्यौदा तयार गर्दा नेपाल सरकार राष्ट्रिय विकासका लागि निजी क्षेत्र–स्वदेशी र विदेशी–स्रोत परिचालन महत्वपूर्ण छ भन्ने कुरामा दृढ विश्वास रहेको उनले बताए । प्रधानमन्त्री दाहालले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाएकोमा हाम्रा मूल्यवान् लगानीकर्ताहरूलाई विशेष सम्मान गर्न चाहन्छु । यसले हाम्रो आत्मविश्वास बढाएको छ र म विश्वस्त छु कि यसले हामीलाई भविष्यमा थप लगानीहरू प्राप्त गर्न मद्दत गर्नेछ । आज मैले भन्नैपर्छ, १२ वर्षअघि सन् २०११ मा यस्तो उच्च शक्ति प्राप्त निकायको स्थापना ठूलो मात्रामा लगानीको कुशल सहजीकरणको लागि नेपालको प्रतिबद्धताको प्रमाण हो । पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले गरेको यो एउटा गम्भीर प्रयास हो । यस अवधिमा ठूला पूर्वाधार आयोजनाहरूलाई सहजीकरण र परिचालन गर्ने सन्दर्भमा सङ्कलन गरेको अनुभवका आधारमा सरकार यस संस्थालाई सुदृढ गर्न प्रतिबद्ध छ । यसले ठूला पूर्वाधार आयोजनाहरूको विकास, निर्माण र व्यवस्थापन र पीपीपी आयोजनाहरूको प्रभावकारी सहजीकरणमा निजी लगानीलाई थप परिचालन गर्ने विश्वास लिएको छु । नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको छ तर कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र हाम्रा आकाङ्क्षाहरू साकार पार्नु प्रमुख चुनौतीको रूपमा रहनेछ ।’

उनले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।

उनले पीपीपीका अन्य नयाँ रूपहरूमार्फत परिवर्तनकारी परियोजनाहरू पनि विकास गर्न आवश्यक रहेको बताए । उनले नेपालमा लगानी बढाउन लगानीकर्ताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *