मकालु रिभ्यु

सिरियाली राष्ट्रिय पौडी खेलाडीको शरणार्थी जीवन पछ्याउने फिल्म

मैले यो फिल्म हेर्दा धेरै कुरा सम्झिएँ ।

समय फेरिन यसै पनि समय लाग्दैन । राम्रो भइरहेको कुरा नराम्रो हुन यसै पनि समय लाग्दैन । 

हिजो भएको एउटा दुर्घटनाको दृश्य अहिले पनि आँखामा आइरहेको छ । पेप्सिकोलाको सडकमा सबै थोक ठिकै भइरहेको थियो । त्यही बिचमा एउटा समूहले काट्न नहुने ठाउँबाट बाटो काट्छ । त्यसको अर्को छिनमा एउटा मोटरसाइकल बाटो क्रस गर्नुभन्दा पहिला गर्नुपर्ने सामान्य पनि कुरा नगरी बाटो काट्छ । उसले त्यो बेला बिचको धर्का नजिकै रोकिनुपर्ने थियो । उताबाट गाडी आइरहेको छ कि छैन हेर्नुपर्ने थियो । तर हेरेन । उसले अचानक बाटो काटेको कारण तीव्र गतिमा आइरहेको बस अचानक मोडिनुपर्‍यो । त्यो ठाउँको व्यस्तता हेर्दा बस पनि उत्तिकै तीव्र गतिमा थियो । सायद त्यति गति उसलाई पनि चाहिएको थिएन । 

उ मोडियो । अर्को भ्यानमा ठोक्कियो । भ्यान स्कुटर र बाइकमा ठोक्कियो । केही निर्दोष मानिसहरूको मृत्यु भयो । धेरै निर्दोष मान्छेहरू घाइते हुनुपर्‍यो । 

समय फेरिन यसै पनि समय लाग्दैन । राम्रो भइरहेको कुरा नराम्रो हुन यसै पनि समय लाग्दैन । 

देशको परिस्थित फेरिन यसै पनि समय लाग्दैन । राम्रो भइरहेको देशको परिस्थिति फेरिन यसै पनि समय लाग्दैन । 

यदि मैले माथि भनेको दुर्घटनालाई कुनै युद्धसँग तुलना गर्दा के हुन्छ ?

सबै थोक ठिकै चलिरहेको थियो । केही समस्या थियो तर युद्ध नै माग्नुपर्ने अवस्था थिएन । भूराजनीतिलाई गिजोलेर आफ्नो देशमा दुई महाशक्ति राष्ट्रहरूलाई भिड्न दिनुपर्ने कुनै कारण थिएन । वा एउटा कुनै देशको आन्तरिक परिस्थितिलाई मौका पारेर एक एक पक्षलाई समातेर अमेरिका, रुस जस्ता महाशक्तिहरू उनीहरूको काँधमा बन्दुक पड्काउँदै लड्न थाल्नुपर्ने थिएन । 

उनीहरूलाई त्यो मौका दिनेहरू पनि कतै रोकिनुपर्थ्यो । बाटो काट्नुभन्दा पहिला यताउता हेर्नुपर्थ्यो । 

तर हेरेनन् । युद्ध भयो । युद्ध भइरह्यो । पहिला पहिला पर पर सुनिएको बमको आवाज बिस्तारै वर वर आइरह्यो । 

अनि त्यसले के गर्‍यो थाहा छ ? 

अघिको दुर्घटनामा कुनै निर्दोष मरेको जस्तै वा घाइते भएको जस्तै लाखौँलाई मारिरह्यो । करोडौँलाई घाइते पारिरह्यो । 

देश बिग्रिँदा अर्को कुरा पनि आउँछ । करोडौँलाई शरणार्थी बनाइरह्यो । 

मैले चर्चा गर्न खोजेको फिल्म ‘दि स्विमर्स’ ले त्यस्तै दुई शरणार्थी युवतीको कथा भन्छ जसको सिरियाको लागि पौडीमा ओलम्पिक खेल्ने सपना त्यहाँ चलेको युद्धको कारण रोकिन्छ । जो त्यही सपनालाई पछ्याउन खोज्दै शरणार्थी बन्छन् । अनेकौँ दुःख गरेर, अनेकौँ देश चहारेर, अनेकौँ दलाललाई पैसा खुवाएर जर्मनी पुग्छन् । 

फिल्म संयोगान्त नै छ । दुई जनामध्ये एक बहिनी शरणार्थीको टिममा परेर सन् २०१६ को रियो ओलम्पिक्स खेल्न पनि जान्छिन् । तर त्यो क्रममा उनीहरूले जे जे भोग्छन् त्यसको फेहरिस्तले मन कुँड्याउँछ ।

बेलाबेला नेपालीहरू पनि अवैध तरिकाबाट अमेरिका जाने गरेको कुरा आइरहेको हुन्छ । त्यस क्रममा उनीहरूले के के अवरोध भोग्छन् होला भन्ने पनि यो फिल्मबाट अनुमान लगाउन सकिन्छ । अनि सँगै संसारभर नै चलिरहेको शरणार्थी सङ्कटलाई त्यसको हिस्सा बनेर भोग्ने शरणार्थीहरूले कस्तो कस्तो समस्या भोगेका छन् पनि यो फिल्ममार्फत चिहाउन सकिन्छ ।

उनीहरू सिरिया छोडेर जर्मनी जान हिँड्छन् । त्यस क्रममा एन्टोलियाबाट ग्रिस पुग्नेबेलामा बिचमा भएको समुन्द्रमा डुङ्गामा जान भनेर पैसा तिर्छन् । जङ्गलमा रातभर पर्खिन्छन् । भोलिपल्ट डुङ्गा आउँछ । पुरानो । हावा भर्नुपर्ने डुङ्गा । उनीहरू त्यति धेरै हुन्छन् कि डुङ्गामा मुस्किलले अट्छन् । दलाल उनीहरूलाई डुङ्गामा छोडिदिन्छन् । अनि समुन्द्रमा हेलिदिन्छन् ।

‘हामी मात्र जाने तिमी नजाने ?’ डुङ्गामा भएका कसैले यो संवाद भन्छन् ।

यो दृश्य र संवादले अहिले चलिरहेको शरणार्थी सङ्कटका धेरै आयाम बटुल्छ । त्यहाँ दलाल छन् जसलाई युद्धले शरणार्थी बनेका मानिसहरूको बाध्यताबाट कमाउनु छ । उनीहरूलाई पुरानो डुङ्गामा जीवन मरणको दोसाँधमा हालेर पठाउनु छ । अनि जानेको पनि बाध्यता छ । उनीहरूलाई बाँच्नु छ । त्यसरी जानु जोखिमपूर्ण छ भन्दा भन्दै पनि जानु छ किनकि उनीहरू बसिरहेको देश त्यो भन्दा धेरै जोखिमपूर्ण छ ।

अझ युश्रा मर्दिनी बनेकी पात्रलाई त झन् जसरी पनि जानु छ किनकि ओलम्पिक्स खेल्ने सपना पालेर खेल्दै गरेको पौडी पोखरी नजिकै बम खसिसकेको छ ।

उनीहरू जाँदै गर्दा डुंगाको भार बढ्छ । इन्जिनले काम गर्दैन । भार कम गर्न उनीहरू पहिला आफ्नो सबै सामान समुन्द्रमा फ्याँक्न थाल्छन् । पछि केही नलागेपछि दुवै युवतीहरू डुङ्गाको डोरी समाउँदै समुन्द्रमा हेलिन्छन् । रातभरको चिसोमा समुन्द्रमा पौडिँदै किनारामा पुग्छन् ।

उनीहरू त्यहाँ पुगेर हिँड्ने बेलाको दृश्यले मन कटक्कै पार्छ । शरणार्थी समस्याले ल्याएको विस्थापन कति ठुलो र भयानक छ भन्ने त्यसले देखाउँछ । उनीहरू सबै आफूले लगाइरहेको रातो पहेँलो ज्याकेट समुन्द्र किनारमा फ्याँक्छन् र अगाडि बढ्छन् ।

उनीहरू जति जति अगाडि बढ्छन् त्यति धेरै ज्याकेटै ज्याकेट फ्याँकिएको देख्छन् ।

त्यो दृश्यले धेरै कुरा भनिदिन्छ ।

त्यसरी जीवन जोखिममा हालेर त्यहाँ पुग्ने उनीहरू पहिलो हैनन् ।

युद्धले शरणार्थी बनाएर अर्को देश टेकाएका उनीहरू पहिलो हैनन् ।

छँदाखाँदाको आफ्नो परिवार छोडेर भोलि के हुन्छ सम्म थाहा नभएको बाटो हिँड्न थालेका उनीहरू पहिलो हैनन् ।

उनीहरू पो पौडी खेलाडी थिए र डुङ्गालाई अगाडि बढाउन हाम फाल्न सके । त्यसो गर्न नसक्ने कति धेरै त त्यहाँ त्यसरी ज्याकेट फ्याँक्ने हैसियतमा पनि पुगेनन् होला ।

लाइफ ज्याकेटको बिम्ब आफैँमा पनि शक्तिशाली भइदिन्छ । यसको काम पानीमा डुब्न लागे बचाउने हो । यो पुनः प्रयोग गर्न सकिने कुरा हो । यसलाई आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्नुपर्ने हो ।

तर युद्ध भएको देशको लागि हरेक समय आपत्कालीन हो । युद्ध भएको देशमा हुनु उनीहरू भर्खरै तरिआएको डुङ्गामा चढ्नु जस्तै हो जो कति बेला समुन्द्रको बिचमा पुगेर रोकिन्छ थाहा छैन । कति बेला त्यो भित्र भएको हावा फुस्किन्छ थाहा छैन ।

हुनसक्छ युद्ध भएको देशमा कुनै निर्दोष मान्छे हुनु त्यो डुङ्गा जस्तै हुनु हो ।

उनीहरू त्यहाँबाट कटेपछि पनि सजिलो हुँदैन । एउटा समस्यापछि अर्को समस्या आइरहन्छ । उनीहरूलाई अलपत्र पार्न खोज्ने दलालहरू भेटिइरहन्छन् । सँगै तीनले बोर्डर कटाउँछन् पनि ।

हरेक बोर्डरभन्दा पहिला रोकिँदै उनीहरूले पर्खिएका दृश्यले ती तमाम मान्छेहरूका बेचैनी भनिदिन्छ जो राम्रो जीवन खोज्दै कहिल्यै नपुगेका अपरिचित देशको बाटो पछ्याइरहेका छन् ।

तर यी सबै अप्ठ्याराहरूको बाबजुद पनि उनीहरू जर्मनी पुग्छन् । त्यहाँ पनि बहिनी आफ्नो देशको लागि ओलम्पिक्स खेल्ने सपना देखिरहन्छिन् । भलै त्यो सपना र बिपनाको दुरी निक्कै टाढा हुन्छ । बरु संयोगले उनी एक जना ट्रेनर भेट्छिन् । उ सँग सिक्न थाल्छिन् । त्यस बेला नै ओलम्पिक्स कमिटीले शरणार्थी टिम बनाउने कुरा आउँछ । लामो द्विविधापछि उनी त्यसबाट खेल्ने हुन्छिन् । रियो जान्छिन् । सहभागी हुन्छिन् ।

तर ती सबै कुरा भइरहँदा एउटा कुरा उनको मनमा सधैँ भइरहन्छ । उनले सिरियाको लागि खेल्न पाइनन् ।

किन पाइनन् ?

किनकि उनी युद्ध भएकी देशकी निर्दोष मान्छे हुन् ।

यो फिल्मले उनको सङ्घर्षको कथा भन्दै गर्दा शरणार्थी समस्यालाई मानवीय कोणबाट देखाएको छ । आफ्नोमा शरणार्थी आएकोमा अप्ठ्यारो मान्छे देशहरूलाई उनीहरू किन र कसरी आउँछन् भनिदिएको छ । र सँगै यो पनि भनेको छ कि त्यसरी आउने लिस्टमा उनी युश्रा र सारा जस्तै हजारौँ हुन सक्छन् जो जीवनभर एउटै सपनाको लागि बाँचेका छन् ।

फिल्मले उनीहरूको दुःख देखाउँदै त्यसमार्फत युद्धका असरहरू कति परसम्म पुग्न सक्छन् भन्ने पनि देखाएको छ ।

अनि भनेको छ भइरहेको कुरा नराम्रो हुन थाल्दा त्यसले धेरैको भइरहेको कुरालाई पनि नराम्रो बनाउँछ ।

तर दुःखको कुरा जे नहुनुपर्ने हो अहिले पनि त्यो भइरहेको छ ।

जे जे कारणले हो सडक दुर्घटनाको कारण नेपालमा अनेकौँ निर्दोषहरूको ज्यान गइरहेकै छ ।

युद्धको कारण युक्रेनमा फेरी पनि मानिसहरूको ज्यान गइरहेकै छ ।

मैले यो फिल्म हेर्दा धेरै कुरा सम्झिएँ ।

सम्भवतः फिल्मले चाहेको पनि यही हो कि ‘युद्धले पारेको असर कसैले पनि नबिर्सिउन् ।’

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *