मकालु फिचर

उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन

सेन्ट मेरिज स्कुलमा छ कक्षा पढ्ने गरी भर्ना भएपछिको कुरा । सारा महर्जनलाई त्यहाँको माहौल अनौठो लागिरहेको थियो ।

एक दिन एसम्बली बस्दै गर्दा उनले उनी जस्तै केटीहरू विभिन्न वाद्य यन्त्रहरू बजाउन ठिक्क परेर बसेको देखिन् । ती मध्ये एउटी केटीमा उनको आँखा अडियो । ड्रम स्टिक समातेकी ती केटी आफू भन्दा ठुलो ड्रमको पछाडि बसेर त्यसलाई बजाउन तयारी गर्दै थिइन् ।

मार्च पास सुरु भयो । केटीहरूले बजाउन थाले । सबै विद्यार्थी वाद्य यन्त्रहरूकै सुरमा विभिन्न क्रियाकलाप गर्न थाले । उनको पनि खुट्टा चलिरहेको थियो । तर उनको आँखा भने त्यही ड्रम बजाउने केटीमै अड्केको थियो । उनी छक्क पर्दै सोचिरहिन् ‘केटीले पानी ड्रम बजाउँछन् ?’

प्रश्नको उत्तर उनकै सामु थियो ।

त्यसरी हरेक दिन त्यही ड्रम र ड्रम बजाउने केटीलाई नियालेर हेर्दै गर्दा उनलाई पनि बजाउने इच्छा जागेर आयो । तर दुर्भाग्यवश उनी स्काउटको सदस्य भइसकेकी थिइन् । त्यो त्यागेर इन्स्ट्रुमेन्टल तिर जान अनुमति थिएन ।

तर पनि साराले आफ्नी साथी अनुस्कालाई ड्रम सिक्ने उनको रहरलाई पुरा गर्न मद्दत मागिन् । उनीहरूसँग ड्रम थिएन । तर उपाय थियो । अनुस्काले ड्रम स्टिक; साराको हात र कक्षाकोठाको डेस्कलाई ड्रम बनाएर  ४\४ बिट बजाउन सिकाइन् ।

त्यो एउटा बिट साराले घरको भुईँमा पनि लट्ठीलाई ड्रम स्टिकको रूपमा प्रयोग गरेर बजाउन थालिन् ।

त्यसरी दुई वर्ष बित्यो ।

एक दिन उनकी आमाको कान्छो भाइ जो गिटार वादक थिए, उनले उपहारको रूपमा सारालाई भारतीय ड्रम दिए । ड्रम त आयो तर घरमा राख्ने सम्भावना नै थिएन । किनभने उनका बुबा सारालाई ड्रम बजाउन दिने कुराको विरुद्धमा थिए । तर ससुरालीको उपहार भएकोले उनले पनि नाइँ भन्न सकेनन् ।

ड्रम घर आयो । साराको सपना खुशी भयो ।

त्यसका सबै पाठ पुर्जा जोडिसकेर ड्रम बनाउन सारालाई करिब दुई घण्टा लाग्यो । त्यो ठुलो र धेरै ठाउँ ओगट्ने भएकाले राख्ने ठाउँ थियो भान्सा कोठा ।

पहिलो केही दिन साराले उनलाई उपहार दिने मामा सँगै ड्रम सिकिन् । सजिला २\४ र ४\४ जस्ता बिट आउँदैमा उनलाई रकस्टार भए जस्तो महसुस हुन्थ्यो ।

कसैलाई डिस्टर्ब नहोस् भनेर साराले सानो आवाज निकालेर बजाउने गर्थिन् । उनले बजाउने हुँदै गर्दा पनि बाबाले पटक पटक ‘ड्रम नै किन बजाउनु पर्‍यो, बरु किबोर्ड बजा न ! केटी मान्छेलाई किबोर्ड बजाएको सुहाउँछ पनि र बुडेस् काल सम्म पनि बजाउन मिल्छ’ भन्ने गर्थे ।

तर सारा ड्रममा भिजी सकेकी थिइन् ।

घर छेउमा केही केटाहरूले ड्रम बजाउँछन् भन्ने थाहा भएपछि उनी त्यहाँ सिक्न जान लागिन् ।

सुरुसुरुमा बजाउँदा धरै हात दुख्थ्यो । स्टिक धेरै बजाउँदा नाडीमा चोट पुग्ने, हातको हत्केलाको छाला निस्कने गर्थ्यो । त्यति बेला उनलाई बजाउने धेरै प्राविधिक कुरा तथा गर्नुपर्ने हातको व्यायामहरू बारे थाहा थिएन  । त्यो भएकोले पनि धेरै सङ्घर्ष गर्नुपर्‍यो । तर जतिसुकै पीडा भएता पनि उनले कहिल्यै हार मानिनन् । जब सम्म सिक्न बसेको कुरा सिकी सक्दिन थिइन्, सुत्नै गाह्रो हुने भइसकेको थियो । उनी मज्जाले नआउन्जेल निरन्तर अभ्यास गर्थिन् ।

उनको यस्तो लगन र जुनुन् देखेपछि घरबाट पनि हौसला मिल्न लाग्यो ।

त्यसरी सुरु भएको उनको यात्रा वर्षौँसम्म यस्तै चलिरह्यो । स्कुल सकेर स्नातक पढ्न थालेपछि उनी विभिन्न ठाउँमा गिग गर्न थालिसकेकी थिइन् । त्यहाँ बजाउँदा बजाउँदा उनलाई डबल प्याडल र ड्रम बजाउने अन्य धेरै कठिन प्रविधिहरूसँग सहज हुन मद्दत गर्‍यो ।

त्यसपछि उनले केटाहरूसँग काम गर्न लागिन् । उनीहरू समर्पित, लगनशील र सक्षम थिए ।  सारा उनीहरूसँग प्रतिस्पर्धा गर्दा चुनौतीपूर्ण महसुस गर्थिन् । उनीहरूसँग काम गर्दा गर्दा उनले आफ्नो सीप तिखार्ने मौका पाइन् ।

तर केटाहरूमाझ पूर्ण रूपमा खुल्न भने सकिनन् । उनलाई उनीहरूसँग मिल्न धेरै गाह्रो भयो । असहज महसुस गर्थिन् । उनीहरूबाट त्यति धेरै सिके तापनि उनले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न भने कहिल्यै सकिनन् ।

बिस्तारै उनले धेर थोर महिला वाद्य वादकहरू भेटिन् । उनीहरू सबै मिली एउटा ब्यान्ड बनाउने निर्णय लिए । नाम राखे ‘जोत्स्’ ।

त्यसअघि उनी सबै काम ड्रम प्रतिको मायाको कारण गरिरहेकी थिइन् । कन्सर्टमा बजाउनु उनको लागि ठुलो कुरा थियो । त्यहाँ बाट पैसा कमाइन्छ र करियर को रूपमा लिन मिल्छ भन्ने कुरा बाट उनी बेखबर थिइन् ।

तर महिला ब्यान्डमा सामेल भएपछि उनले अन्ततः व्यावसायिक संसारको झल्को पाइन् । महिला ब्यान्डको रूपमा उनीहरूले एक्सपोजर पाए र घुम्न जाने अवसर पनि पाए । उनीहरू दुई पटक बुटवल गए र ‘विमन इन कन्सर्ट’ जस्ता  कार्यक्रममा प्रस्तुति दिए । निश्चित रकम पाए पनि । यसरी सारालाई ड्रमीङ करियरको रूपमा पनि गर्न सकिने रहेछ भन्ने कुरा थाहा भयो ।

तर सबै सदस्यहरुको प्राथमिकता फरक फरक भएकोले दुर्भाग्यवश त्यो ब्यान्ड पछि टुक्रियो ।

यो पनि पढ्नुहोस्: यजुले बाँसुरी रोजेकी थिइनन्

त्यसपछि भने साराले कुनै पनि ब्यान्डसँग काम गरिनन् । ड्रमको लागि तीव्र प्रेमको बाबजुद आर्थिक कारण र कनेक्सनको कमीले गर्दा उनले यसलाई करियरको रूपमा पछ्याउन सकिनन् । केटी ब्यान्डमा हुन्जेल मानिसहरूले उनीहरूलाई एकसाथ बोलाउने गर्थे तर एकल कलाकारको रूपमा भएकोले  कोही पनि नयाँ सदस्य अनि विशेष गरी केटीलाई आफ्नो ब्यान्ड वा प्रदर्शनमा थप्न नपरे हुन्थ्यो जस्तो गर्न थाले ।

ब्यान्डमा केटी हुँदा केटाहरूलाई पनि असहज महसुस हुने गरेको अनुभव सारालाई हुन्थ्यो । ती सबै एक केटी वरपर भएको कारणले बोल्दा बिचार पुर्‍याउनुपर्ने वा महिलाकै कारणले आफ्नो पुरुषत्व दबाउनु परेको जस्तो उनीहरूले गर्ने गरेको उनी बारम्बार महसुस गर्थिन् । उनले कतिपय केटीहरूलाई ब्यान्डमा फिट बनाउन केटाहरूले पुरुष जस्तो ऊर्जा नै ल्याउन प्रयास गरेको पनि देखिन् । तर सारासँग त एक स्त्री ऊर्जा मात्र थियो । र उनलाई पुरुषहरूसँग फिट हुनको लागि आफ्नो व्यक्तित्व परिवर्तन गर्नुपर्छ भन्ने कुरामा पनि विश्वास थिएन ।

उनले त्यस्तो अनुभव केटाहरूको ब्यान्डमा मात्र हैन समाजमा पनि देखेकी छन् ।

हाम्रो समाजमा जब कुनै केटी ड्रमर हो भन्ने सुनिन्छ मान्छेले उसलाई मर्द र घमन्डी केटीको रूपमा चित्रण गर्दछन् भन्ने उनलाई लाग्छ । उनको आफ्नै केटी साथीले पनि उनले लगाउने ड्रेसमा कमेन्ट गर्दै ‘तिमी ड्रमर होइन ? कालो ज्याकेट र कालो नेल पोलिस लगाऊ न अनि पो ड्रमर जस्तो देखिन्छ त’ भनेकी थिइन् ।

त्यस्तै एक पटक उनको केटा साथीले त,‘महिलाको हात नरम हुन्छ त्यसैले उनीहरूले ड्रम बजाउन सक्दैनन् । तिम्रो पनि त्यही कारणले पन्च आको छैन ।’ सम्म भनेका थिए ।

उनको बिचारमा यस्ता पितृसत्तात्मक धारणाले महिलालाई कमजोर प्राणीको रूपमा लिन्छ त्यसैले महिलाले यस्ता वाद्य उपकरणलाई सोखको रूपमा लिन सक्छन् तर करियरको रूपमा सक्दैनन् भन्ने भान परेको छ । उनको भोगाइमा महिलाहरूको लागि नेपाली समाजमा सुरक्षित र प्रोत्साहन गर्ने वातावरण छैन जहाँ उनीहरूले आफ्नो वास्तविक प्रतिभालाई उत्कृष्ट बनाउन सकुन् ।  रूढीवादी धारणाका कारण महिलाहरू सधैँ सीमित हुने र सबै प्रतिभाको बाबजुद एक महिला सधैँ स्थिरता सँग सङ्घर्ष गर्नु पर्ने सारा बत्ताउँछिन् ।

उनले एक पटक ड्रमर्स डे भनिने बालुवाटारमा आयोजित भएको कार्यक्रममा पनि भाग लिएकी थिइन् जहाँ २० जना सहभागी मध्ये उनी एक मात्र महिला ड्रमर थिइन् । उनलाई थाहा छ कि उनी सक्षम छिन् । महिलाहरूले ड्रम बजाउन सक्दैनन् भन्ने सबै नकारात्मक टिप्पणीहरूको बाबजुद उनलाई कुनै पनि महिलाले पुरुष ड्रमरहरू जस्तै राम्रो बजाउन सक्छिन् भन्ने दृढ विश्वास छ।

तर प्रतिभाको बाबजुद उनलाई उचित मार्गनिर्देशन र कनेक्सन नभएको कारणले रूढीवादी समाजमा करियरको रूपमा ड्रम बजाउने प्रतिभालाई जोगाउन गाह्रो पर्‍यो ।

आज पनि उनी आफ्नो ड्रमसँग जोडिनको लागि आफ्नो पढाउने कामबाट कम्तीमा एक घण्टा छुट्याउछिन् । ड्रमले उनलाई जीवित बनाउँछ । मानिसहरूको लागि बजाउने इच्छाको बाबजुद उनलाई सबैभन्दा बढी सन्तुष्टि आफ्नै लागि बजाउँदा मिल्छ । हरेक प्रतिभालाई पैसा कमाउनको लागि प्रयोग गरिनु पर्छ भन्ने कुरामा उनी विश्वास गर्दिनन् ।

कसैले महिलाले ड्रम बजाउन हुँदैन र केटासँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने पितृसत्तात्मक धारणाहरूमा नबाँधिन र आफ्नै कला र सिपसँग प्रतिस्पर्धा गर्न सारा आउँदै गरेको युवा महिला ड्रमरलाई प्रोत्साहित गर्छिन् । उनी दृढताका साथ भन्छिन्, ‘यदि एक महिला डाक्टर,अन्तरिक्ष यात्री र एक बक्सर हुन सक्छिन् भने त्यही महिला ड्रम र पनि हुन सक्छिन् ।’

तर दु:खद् कुरा उनको ड्रम यात्रा फेरी बाल्यकालतिर नै फर्किएको छ । उनी त्यति बेला देखि नै आफ्नै लागि ड्रम बजाउँथिन् । यसलाई करियर बनाउँछु भन्ने सोच्दिन थिइन् ।

त्यसलाई करियर बनाउन खोज्दा खोज्दै पनि उनले फेरी पुरानै आफूलाई विश्वास गर्नु परेको छ ।

आशा छ अरूले यस्तो गर्नु नपरोस् ।

प्रतिक्रिया

One thought on “उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *