स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा अपरिहार्य : महानिर्देशक सिंह

काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताएका छन् ।

ललितपुरमा आयोजित ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम’ मा बोल्दै महानिर्देशक डा.सिंहले यस्तो बताएका हुन् । उनले विपद् जोखिम न्यूनीकरणका लागि र्यापिड रेस्पोनन्स टिम चुस्त दुरुस्त बनाउनुपर्ने बताए । उनले जोखिमको अवस्थामा सही र सत्य सूचना दिनुपर्ने बताए । सिंहले स्वास्थ्यका समस्याहरू हल गर्न प्रवद्र्धनात्मक शिक्षा आवश्यक रहेको बताए ।

सिंहले भने ‘स्वास्थ्यको पक्षमा कुरा गर्दाखेरी होल पब्लिक हेल्थ सर्भिसेसलाई पाँच वटा सर्भिसेसमा विभाजन गरिएको छ । सबैभन्दा महत्वपूर्ण भनेको प्रोमोस्नल हेल्थ हो । प्रोमोस्नल हेल्थमा हेल्थ लिट्रेसी महत्वपूर्ण हुन्छ । जीवन सुरु हुनुभन्दा अघि के के गर्नुपर्छ भन्नेदेखि लिएर खानेकुरा, पोषण, शिक्षा, मानसिक अवस्थालाई सबल बनाउने कुराहरू यी सबै कुराहरू प्रवद्र्धनात्मक कुराहरू हुन् । कसरी हात धुने ? के के खाने ? कसरी व्यायाम गर्ने ? जस्ता थुप्रै कुराहरूले आयामिक इफेक्ट ल्याउँछ । यसका लागि औपचारिक शिक्षा नपुगेको ठाउँमा स्वास्थ्य पत्रकारिताले भूमिका निर्वाह गर्छ । हेल्थ लिट्रेसीले हेल्थ इन पोलिसिलाई प्रभावकारी बनाउन मद्दत पुग्छ । शुद्ध खानेपानी भयो भने सायद स्वास्थ्यमा धेरै समस्याहरू कम हुन्छ होला ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले नेपालमा जोखिम सञ्चारको भूमिका अग्रणी रहने बताए । उनले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण रहने बताए । उनले सही सूचनाले व्यक्तिको व्यवहारमा परिवर्तन आउने बताए । उनले स्वास्थ्य विषय संवेदनशील रहेको भन्दै विपद्मा स्वास्थ्य पत्रकारिताको भूमिका अग्रणी रहने बताए ।

श्रेष्ठले भन्नुभयो, ‘स्वास्थ्य भन्ने चिज आफैँमा पनि संवेदनशील विषय हो । नेपालमा विपद् आइरहन्छ । त्यसकारण पनि नेपाल जस्तो देशमा जोखिम सञ्चारले अर्थ राख्छ । हामीले कोरोना, डेंगु, बाढी पहिरोको सामना गर्दै आइरहेका छौँ । यस्तो बेलामा जोखिम सञ्चारको महत्व रहन्छ । मान्छेहरू जब जोखिममा पर्छन्, आपतविपद् परेको हुन्छ । सही सूचना सही तरिकाले आधिकारिक रूपमा दिएनौँ भने भ्रामक सूचना पैदा हुन्छ । सही सूचना दियौँ भने तत्काल उहाँहरूको व्यवहार परिवर्तन गराएर सही निर्णयमा पुगेर ठूलो जनधनको क्षति र जीवनको रक्षा गर्नसक्छ ।’

सहभागी अन्य वक्ताहरूले विपद्को समयमा स्वास्थ्य सचेतना पैदा गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *