एमाले लक्षित माधव नेपालको कटाक्ष : हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेको बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चा लगायत जुनकुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गरे । उनले आफूहरू विध्वंसक नभएकाले आतंकित नहुन आग्रह गरे ।

उनी भन्छन्, ‘हामीले हाम्रो देशको राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेका छौँ की छैनौँ ?म दावाकासाथ भन्छु । चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको छ । हाम्रो पार्टीको बिस्तार होला भनेर आतंकित पनि भएका छन्, ती आतंकित भएकाहरूलाई भन्न चाहन्छु धेरै आतंकित नहुनुस्, हामी विध्वंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन । हामी त शत्रु ठान्दैनौँ । हामी तपाईँको गलत प्रवृत्तिलाई मात्रै इंकित गरिरहेका छौँ । सुधार गर्नुहोस्, तपाईँहरूको रवैयाले कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । तपाईँको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईँको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढीरहेको छ ।’

नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =