एमसीसी परियोजना कुनैपनि हालतमा लागू हुन दिन्नौँ : सिपी गजुरेल

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।
नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरूले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरूले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे । नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।
गजुरेल भन्छन्, ‘अब यो लागू गर्ने चरणमा गएको छ । र, अहिले हामीले जे गर्न खोजेका छौँ । त्यो के हो भने अब सम्झौता खारेज गर्न त सक्कियो । हामीले प्रयास ग¥यौ, सकेनौँ । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरूले गर्न खोजेको के हो भने अव लागू गर्ने चरणमा छन् उनीहरू । उनीहरूको वक्तव्यबाट के थाहा भएको छ भने यो आगामी १४ गते ठाउँ ठाउँमा उनीहरूले लागू गर्दैन । उनीहरूले सेन्टरहरू लागू गर्ने भनेर ठाउँ ठाउँमा योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरूले डेट फिक्स गरेका छन् । र, हामीले त्यसैलाई लक्षित गरेको हो । आज यो कार्यक्रम त्यसैका लागि हो । किनभने पार्लियामेन्टबाट पास गरेको कुरालाई अब हामीले पास गरेको होइन भन्ने त होइन ? जसरी भएपनि पनि पास त भयो । तर त्यति मात्रै अन्तिम होइन । अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । कुरा के हो भने उनीहरूले त्यहाँ पारित गरे पनि अब यहाँको सरकारले चाहिँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यस कारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौँ । त्यसलाई हामीले अस्वीकार गर्छौँ । र, त्यसलाई खारेज गर्नुपर्छ भन्ने अधिकार नेपाली जनतालाई छ ।’
नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँ ठाउँमा विरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।










