यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन् ।
मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताएका हुन् ।
उनले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताए । उनले आफूहरूसँग त्यस्तो सङ्कीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।
उनले आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तन मात्र रहेको बताए ।
उनले भने,– ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनु भएछ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा हाम्रो पार्टीको तर्फबाट म पनि गएको थिएँ । थाहा छैन मलाई के कारणले हो एमालेका नेताहरु आएनन् । सम्भवतः त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेको हुनाले होला आउने काम भएन । हामीमा त्यस्तो सङ्कीर्णता छैन । हामीमा त्यस्तो किसिमको सानो चित्त पनि छैन । हामी सबैसँग साझा विषयवस्तुहरूमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ । राष्ट्रको सरोकारका विषयहरू, जनताको सरोकारका विषयहरू, समाजका सरोकारका विषयहरूमा हामी विचार मिल्नेहरूसँग, हाम्रा धारणा मिल्नेहरू सँग, अडान मिल्नेहरूसँग हामी हातेमालो गर्दै अघि बढ्न चाहन्छु । हामी न्यूनतम संस्कार कायम राख्छौँ । र त्यो नेपाली संस्कृतिलाई अवलम्बन गर्छौँ । अरूको मानमर्दन गर्दैनौँ । अरूको अपमान हामी गर्दैनौँ । अरूको तेजोवध गर्दैनौँ । हामी अरूलाई धारे हात लगाएर मात्रै अनि चलेपछि मात्रै राम्रो हुन्छ भनेर मनलाई सन्तोष पनि दिँदैनौँ । हाम्रो दिमागमा यो समाजको परिवर्तनको कुरा छ । हाम्रो मनमा नेपाली जनतालाई मुक्ति दिलाउने कुरा छ । हाम्रो सोचमा कसरी नेपालमा समाजवादलाई साकार पार्न सकिन्छ भन्ने सोच छ । चिन्तन छ ।’
अध्यक्ष नेपालले तत्कालीन नेकपा(एमाले)बाट विद्रोह गर्नु उचित र जायज भएको बताए ।
उनले आजसम्मका घटनाक्रमहरूले आफूहरूले विगतमा गरेको विद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताए । जुनसुकै कोणबाट हेर्दा पनि विद्रोह जायज भएको उहाँले जिकिर गरे ।
उनले भने – ‘त्यस बेलामा हामीले तत्कालीन पार्टी नेकपा(एमाले)बाट विद्रोह गरेर अत्यन्तै उचित काम गरेका थियौँ । र त्यो विद्रोह जायज थियो । औचित्यपूर्ण थियो । यस कुरामा हामी विश्वस्त हुनुपर्दछ भन्ने कुरामा म जोड दिन चाहन्छु । अहिलेसम्मका घटनाक्रमहरूले, अहिलेसम्मका सबै काम, क्रियाकलापहरूले, राष्ट्रिय राजनीतिले सामना गरेका अनेकौँ चुनौतीका घटनाक्रमहरूले हामीले त्यो चालेको कुरा ठिक थियो भन्ने कुरालाई बारम्बार पुष्टि गर्दै आएको छ । कसै कसैले औचित्यको पुष्टि गर्नका लागि निर्वाचनमा धेरै सिट जितेर अनि अर्कोलाई सानो बनाएर हामीले ठुलो बनेको भए हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ । कसै कसैलाई त्यस्तो परेको पनि हुन सक्दछ । पहिले हामी केन्द्रीय कमिटीका सदस्यहरू, हामी नेतृत्वदायी तहमा भएका नेताहरु त्यस बारेमा प्रष्ट छौँ कि छैनौँ ? जिल्ला कमिटीकाले के भन्छन् ? प्रदेश कमिटीकाले के भन्छन् ? जनवर्गिय संगठनकाले के भन्छन् ? त्यो महत्त्वपूर्ण कुरा होइन । हामी के भन्छौँ ? हाम्रो दिमागमा के छ ? हामी त्यसमा विश्वस्त छौँ कि छैनौँ ? सबभन्दा पहिलो प्रश्न यहाँ रहेको छ । हामी विश्वस्त छौँ भने अरूलाई विश्वस्त बनाउँछौँ । हामी औचित्यपूर्ण देखिरहेका छौँ भने अरूलाई पनि औचित्यपूर्ण रहेको छ भन्ने कुरालाई पुष्टि गर्न सक्छौँ । जुनसुकै कोणबाट हेर्दा खेरी पनि त्यस बेलामा हामीले गरेको विद्रोह गरेको कुरा एकदम जायज थियो ।’
उनले विद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । केन्द्रीय सदस्यहरू विश्वस्त भएमा तल्ला कमिटी र नेताहरूलाई पनि विश्वस्त बनाउन सकिने उनको भनाई छ ।
यस्तो छ राजनीतिक प्रतिवेदन










