प्रदीप गिरी मार्क्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद स्वर्गीय प्रदीप गिरी मार्क्सवादी भएको बताएका छन् ।
सोमबार स्वर्गीय गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले गिरी मार्क्सवादी भएको र उनले संसारका सारा समस्या मार्क्सवादमा देखेको बताए ।
मार्क्सवादको विषयमा जान्ने एसियाकै केही मान्छेहरू भित्रमा प्रदीप गिरी पर्ने उनले बताए । गिरीको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद, स्वतन्त्रताको व्याख्यामा श्रमजीवीका प्रति निःशर्त प्रतिबद्धता बाहेक अरू केही नभएको उनले बताए । गिरीको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्यता पनि मिलेको उनको भनाई छ ।
उनले भने– ‘हाम्रो पार्टीमा मसँग सोधियो काँग्रेसलाई ल्याएर मार्क्स पढाउने भन्ने खालको कुरा भयो । मैले भनेको थिएँ, मैले सोचेरै भनेको, अहिले पनि त्यो उत्तरका प्रति मलाई कुनै पश्चात्ताप छैन । मैले के भनेको थिएँ भने मार्क्सको बारेमा जान्ने एसियामा प्रदीप जत्तिको कति जना मान्छे छन् ? सोचौँ । मैले हाम्रो नेतालाई उत्तर दिएको थिएँ । एसियामा कति जना मान्छे छन् ? औँलामा गन्न सक्ने मान्छे होलान् भनेको थिएँ । म आफूले त्यसरी बुझ्थेँ । उहाँ कति मार्क्सवादी हुनुहुन्थेन भनेर कसैले भन्छ भने त्यो एउटा कुरा हुनसक्छ । नत्रभने देखि उहाँले कबुल गरेको कुरा हो कि उहाँ मार्क्सवादी हुनुहुन्थ्यो । उहाँले आजसम्मका जिन्दगीका, संसारका सारा समस्याको समाधान मार्क्समा देख्नुहुन्थ्यो । र स्वयं मार्क्समा पनि केही समस्याहरू देख्नुहुन्थ्यो । त्यसको खोजीका लागि भतारिइरहनु भएको थियो । मैले बुझेको प्रदीप गिरी यही हो । यो कुरा उहाँले नै बोलेको कुरा हो । कयौँ मार्क्सवादीहरुले मार्क्सको खोल मात्रै ओढेर गैर मार्क्सवादी भइरहेको बेलामा, अर्कै बाटो लिइराखेको यो युगमा प्रदीप गिरी त्यो अविभाजित व्यक्तित्वको मान्छे हो जसको भन्ने र गर्ने कुरा सामान्यतया त्यति नजिक । बोल्ने र गर्ने एउटै गर्नु भनेको जिन्दगीको असाधारण उपलब्धि हो जस्तो लाग्छ । मैले देख्दा प्रदीप गिरि त्यो अविभाजित व्यक्तित्वको मान्छे हुनुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद, स्वतन्त्रता यो सारा कुराको व्याख्या श्रम जीविका प्रति निःशर्त प्रतिविद्धताबाहेक केही पनि थिएन भन्ने म असाध्यै प्रष्ट छु ।’
उनले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रूपमा सुरक्षित छु जस्तो लाग्ने गरेको र अहिले त्यस्तो सुरक्षित महसुस नभएको बताए ।










