संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : लोकेन्द्रबहादुर चन्द (भिडिओ)

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन् ।
वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्मा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुने बताएका हुन् ।
शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकार्पण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै छिट्टै संसद् सुचारु हुने विश्वास समेत व्यक्त गरे । फरक प्रसङ्गमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताए ।
उनले भने, ‘तर जेहोस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनु पर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अव यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुशन निकाल्छु भन्नुभएको थियो । निकाल्नुहोला । अव राप्रपा भित्र साथीहरूको केही गुनासो थियो । त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरू नियम र विधान अनुसार हुन्छ ।’
कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरु पठनीय रहेको बताउनुभएको थियो ।










