मकालु रिभ्यु

किशोरीको हस्तमैथुनबारे चुप ‘ओमाइगड टु’

मध्यान्तरसम्म ‘ओमाइगड टु’ फिल्म ठिकै थियो । 

मुख्य त के हुन्छ भनेर पहिला नै अनुमान गर्न सकिने परम्परागत सिक्वेल बनाइभन्दा फरक बाटो समातेको थियो । यस्ता सिक्वेलको बिगबिगी बलिउडमा मात्र हैन नेपालमा पनि सुरु भइसकेको छ । अगिल्लो फिल्मको सफलताको ब्याजलाई पर्याप्त मेहनत नगरी बेच्ने । कमाउने ।

‘ओमाइगड टु’ को कथाले सुरुमा नै सर्प्राइज गरेको थियो । 

स्कुलमा पढ्ने एक बालक छन् । उनलाई साथीहरूले लिङ्ग सानो भएको भनेर जिस्काइरहेका हुन्छन् । त्यो कुरा उनको बाल मस्तिष्कमा गढ्छ । लिङ्ग लम्ब्याउन अनेको उपाय खोज्ने बनाउँछ । कुनै बाबाले बेच्ने तेलदेखि यौन शक्ति बढाउने भियाग्रासम्म । 

उनी लिङ्ग बढाउने भनेर अत्यधिक हस्तमैथुन गरेको कारण अस्पतालमा पुग्छन् । 

कुरा यत्तिकै टुङ्गिँदैन । उनले स्कुलमा नै हस्तमैथुन गरेको भिडियो सार्वजनिक हुन्छ । 

त्यसले स्कुलको इज्जत बिगारेको भनेर उनलाई निकालिन्छ । 

धार्मिक बाबु उनलाई गाली गर्छन् । सबैको अगाडि पिट्छन् । माफी माग्न लगाउँछन् । 

हाम्रो वरपर पनि ठ्याक्कै यस्तै हुन्छ । बालबालिकाहरूको दिमागमा के चलिरहेको छ थाहा हुँदैन । केवल उनीहरूले गरेको गल्तीलाई मात्र देखिन्छ । त्यो गल्तीको बाटोमा उनीहरूले भोगेका स साना कष्टहरूलाई बुझिन्न । 

बालबालिकाको पक्षबाट सोच्ने समाज बन्न लामो समय लाग्छ । 

यो फिल्ममा पनि यस्तै हुन्छ । बालकलाई कसैले पनि के भएको भनेर सोध्दैन । उसको अनुहार झुकेको छ । त्यसलाई कसैले उठाउन खोज्दैन । उसको हात काँपेको छ । त्यसलाई कसैले थाम्दैन । एउटा दृश्यमा भगवान् बनेर आएका अक्षय कुमारले उनको हात थामेको दृश्य सुन्दर छ । कसैले गरेका हरेक गल्तीलाई सजायको आँखाबाट मात्र हेर्नुहुँदैन भन्ने कुरा त्यसले बताएको छ । सँगै बालबालिकाहरूसँग व्यवहार गर्दा चाहिने न्यूनतम समानूभूतिलाई पनि त्यसले संकेत गरेको छ । 

यो सबै प्रक्रियाको बिचमा जसै बाबुलाई उनलाई आफूले गलत गरेको कुरा भगवान् बनेका पात्रले भनिदिन्छन् । छोराले त्यही कारणले आफ्नो ज्यान नै लिन थालेको थाहा पाउँछन्, उनी छोराको पक्षमा लाग्न थाल्छन् । 

कुरालाई अदालत पुर्‍याउँछन् । 

यहाँसम्म कथाले बलियोगरि समातेको थियो । धार्मिक अन्धविश्वासले हस्तमैथुनलाई गलत भनेको भर्सेस त्यहाँ कट्टर धार्मिक मान्छे नै त्यो सही हो भन्दै लड्न थालेको । 

स्कुलले अनुशासनको कारबाही गरेको भर्से स्कुलले नसिकाएको कारण छोरा त्यस्तो भएको भनेर उनले मुद्दा हालेको । 

अनि त्यति मात्र हैन आफूलाई पनि प्रतिवादी बनाएर आफैँले मुद्दा हालेको । अर्थात् छोरा त्यस्तो हुनुमा आफ्नो पनि दोष छ भनेर उनले पनि स्वीकारेको । 

स्कुलको पक्षमा लड्ने स्कुलको नजिककी वकिल । छोराको पक्षमा लड्ने बाउ । 

छोराको कारण अपहेलना सहेका आमा र उसकी दिदी पनि । 

कति धेरै तहमा यो विषयलाई समातेर लैजाने बाटो फिल्मले बनाइसकेको थियो । सामाजिक परिवेशसँगै कति धेरै कुरा भन्ने ठाउँ थियो । 

अनि सबैभन्दा मुख्य कुरा त पछिल्लो समयमा भारतमा बनिरहेका फिल्महरूले समात्न थालेको सामाजिक मुद्दाको रिले दौडलाई नयाँ गतिमा दौडाउने अवसर बनिसकेको थियो ।

आयुषमान खुराना खुसी भइसकेका थिए । (उनी यो फिल्ममा छैनन् तर समाजमा ट्याबु भनिने सामाजिक विषयलाई सिनेमाको पहुँचमा पुर्‍याउने उनी सबैभन्दा सफल अनुहारमध्ये एक हुन् ।)

मोदी सरकार आएपछि भारतमा बनिरहेका उग्र राष्ट्रवादी तथा धार्मिक असहिष्णु फिल्महरूको लाममा यो फिल्म लाग्दैन कि जस्तो पनि भइसकेको थियो । यसै पनि चुनावताका मोदीलाई प्रश्न सोधेका अक्षयकुमारले खेलेको फिल्म । हिन्दु धर्मको एक पात्र महादेव भएको फिल्म । धार्मिक ग्रन्थहरूलाई साभार गरेर यौनको विषयमा कुरा गरेको फिल्म । 

मध्यान्तरसम्म ती सबै विषयलाई भुलेर यो फिल्मले यौन शिक्षाको विषयलाई जेन्युयन ढङ्गले उठायो भन्ने पनि भइसकेको थियो । त्यो कुरा बलिउडको त्यो तहको शक्तिले भन्न थाल्दा धेरै ठुलो फरक पर्ने थियो । हाफटाइमसम्मले पनि धेरै काम गरिसकेको थियो । महादेव बनेका अक्षयले एउटा संवादमा ‘छोराको बाउ त धेरै बन्यौ अब साथी बनेर हेर्नु ।’ भन्ने संवादले यौन शिक्षाको मामिलामा परिवारले आजको बच्चालाई कसरी ध्यान दिनुपर्छ भन्ने कुरा पनि देखाइसकेको थियो । 

छोराको झुकेको अनुहारमा साथीहरूको प्रेसरको कारण अनि यौन तथा आफ्नो प्रजनन अङ्गको बारेमा हुने असुरक्षाको बारेमा निक्कै गहन बहस उठाउन लागिसकेको थियो । 

हाफटाइमपछि फिल्म पुरै खत्तम भयो भनेको पनि हैन । त्यसमा पनि फिल्मले धेरथोरै त्यो काम पनि गरेकै छ । यौन शिक्षा दिइनुपर्छ भन्ने कुरा सामान्यीकरण गर्न खोजेको छ । मूर्तिमा भएका यौन आसनहरू देखाउँदै त्यहाँ थियो भने यहाँ के गलत भयो पनि भनेकै छ ।

मैले हाफ टाइमसम्म पटक पटक आठ कक्षामा पढाउने रमेश घिमिरे सरलाई सम्झिएको थिएँ । हाम्रो स्कुलमा उ बेला यौन जिज्ञासा लेखेर एउटा बाकसमा खसाउन पाइन्थ्यो । सरले त्यहाँ खसाइएका पश्नहरूको उत्तर बिहान लाइन लागेको बेलामा नै सुनाइदिनुहुन्थ्यो । मैले २०६१ सालमा नै उहाँबाट अनेक यौन सम्बन्धी प्रश्नहरूको जवाफ पाएको थिएँ । महिला महिला बिचमा पनि यौन सम्पर्क हुन्छ भन्ने जस्तो कुरा थाहा पाएको थिएँ । 

त्यसपछि साप्ताहिकमा हुने यौन जिज्ञासा समाधान जस्ता स्तम्भले पनि धेरै काम गरेका थिए । 

सबैभन्दा धेरै जिज्ञासा हुने उमेरमा कोही मान्छे गलत बाटोमा लाग्ने सम्भावना हुन्छ । यो कुरा फिल्मले त्यतिन्जेलसम्म देखाएको थियो । चरित्रको एजेन्सीमार्फत देखाएको थियो । 

तर जसै हाफटाइम कट्यो, फिल्म चरित्रको हातबाट फुत्किएर लेखक र निर्देशकको कमजोरीतिर तानिन थाल्यो । 

यति महत्त्वपूर्ण कुरा उठाइरहँदा केही गल्तीहरू गर्न थाल्यो । विपक्षीको तर्क कमजोर कमजोर बन्दै जाँदा विषयले पर्याप्त छलफल पाएन । जसले एक त मध्यान्तरपछिको भाग असाध्यै बोरिङ बनायो । फिल्म जुन मुद्दामा गहिरिएर छिर्ने हो त्यता छिरेन । उसले विद्यालयका शिक्षकलाई मुद्दा हालेको थियो । विद्यालयका कुनै पनि शिक्षकलाई कठघरामा उभ्याएन ।

तीनलाई जटिल प्रश्नहरू सोधेन ।  

विपक्षले पटक पटक यो गलत हो भनिरह्यो तर त्यसको लागि पनि पर्याप्त तर्क दिएन । 

बरु पटक पटक हिन्दु महानतालाई उजागर गरिरह्यो । कोर्टमा छिरिसकेको विषयलाई महादेवको महानतामा तानिरह्यो । कोर्टभित्र आएका मान्छेलाई नै पनि ‘हर हर महादेव’ भन्न लगाइरह्यो । त्यति मात्र नभएर छोराको बाउले अदालतलाई नै मन्दिर जसरी सजायो । न्यायधिसलाई भगवान् बनाइरह्यो । 

फिल्मले आफैँले उठाएको विषयको बृहत् आयामलाई समात्दैन । 

अनि सँगै नयाँ शिक्षा प्रणालीको खोटलाई समेट्दैन । बरु पहिला पहिलाको गुरुकुलमा यौन शिक्षा हुने कुरा बताउँदै पुरानै तरिका ठिक थियो को भाष्य खोलिरहन्छ । फिल्मले संकेत गरेको पुरानो समयमा कामसूत्र त पढाइ हुन्थ्यो होला तर त्यो पनि आफैँमा स्त्रीद्वेशी थियो भन्ने कुरा फिल्मले बिर्सिन्छ । त्यो बेला सन्तुष्टिको परिभाषा सङ्कुचित थियो । शिक्षक र विद्यार्थीको बिचमा अनावश्यक दुरी थियो । एकोहोरो थियो भन्ने कुरा पनि बिर्सिन्छ । 

फिल्मले यौन शिक्षाको कुरा त उठाएको छ तर त्यसलाई आधुनिक सेटिङको गहिराइमा पुगेर छुन सकेको छैन । पटक पटक युवकको झुकेको अनुहार देखाएको छ तर उसलाई नजिकैबाट सुन्ने प्रयत्न गरेको छैन । उसको प्राइभेसीको बोझलाई भन्न सकेको छैन । 

नेटफ्लिक्समा ‘सेक्स एजुकेसन’ भन्ने सिरिज छ । त्यसले अनेकौँ चरित्रका अनेकौँ आयामलाई खोलेको छ । त्यसले हरेक लिङ्गलाई समेटेको छ । तर यहाँ त्यो छैन । भाइको यौन समस्याको कुरा हुँदै गर्दा दिदीको यौन शिक्षाको पाटोलाई पुरै बेवास्ता गरेको छ । जबकि उसको केसको तयारी गर्दा उनी पनि उत्ति नै रूपमा सहभागी हुन्छिन् । 

यस हिसाबले फिल्मले हिन्दु धर्मको आड लागेर यौन समस्याको कुरा गरेको जस्तो त गरेको छ तर त्यसले अर्को ठुलो यौन विषयलाई भने विभेद गरेको छ । केही वर्ष पहिला हस्तमैथुन गरेको दृश्य हालेको कारण अभिनेत्री स्वारा भास्करले अनेकौँ गाली खाएकी थिइन् । त्यो अवस्थामा रहेको समाजलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्ने अवसर यो फिल्मले गुमाएको छ । 

अनि सबैभन्दा महत्त्वपूर्ण कुरा केटाले हस्तमैथुन गरेको विषय उठाइरहँदा किशोरीले पनि हस्तमैथुन गर्छन् भन्ने कुरा उठाएको छैन । एउटा दृश्यमा हस्तमैथुन गरेको विषयलाई पब्लिक रूपमा स्विकार्दै युवक सार्वजनिक अदालतमा पुग्छ । उसको कुरामा समर्थन जनाउँदै वरपर बसेका केटाहरू ‘म पनि हस्तमैथुन गर्छु’ भन्दै हात उठाउँछन् । तर त्यहाँ नै हात उठाउँदा एक जना किशोरी भने ‘पिरियड’ को कुरा गर्छिन् । उनलाई ‘म पनि हस्तमैथुन गर्छु’ भनाउने हिम्मत फिल्मले गर्दैन । 

त्यति मात्र हैन फिल्मले नजानिँदो तरिकाले महिला चरित्रको बोलीलाई दबाएको छ । परम्परागत पितृसत्ताले जसरी महिलालाई दबाउँछ यहाँ पनि त्यो देखिन्छ । झट्ट हेर्दा बोल्न दिएको पनि छ । तर त्यसलाई स्पष्ट बनाएको छैन । फिल्ममा जसरी पुरुष पात्रले यौनको बारेमा खुलेर बोल्छन् । महिला पात्र त्यसरी बोल्दिनन् । एउटा दृश्यमा उनकी श्रीमतीलाई सुहागरातको बारेमा सोधिन्छ । तर उनी त्यसको बारेमा खुलेर भन्दिनन् । बरु ‘उहाँ जसरी जन्मिनुभयो त्यही नै भयो’ भन्ने खाले कुरा गर्छिन् । 

अझ यो विषय गलत हो भनेर बोल्ने जिम्मा पनि महिला वकिलले नै पाएकी छन् । 

बलिउडमा मौलाइरहेको धार्मिक द्वेष र विशेषतः मुस्लिम समुदायलाई नराम्रो भन्ने क्रम यसमा पनि छुटेको छैन । फिल्ममा जब उनले छोराको पक्षमा लागेको कुरा आउँछ समाजमा त्यसको विरोध भएको कुरा सुनाइन्छ । अनि सबैभन्दा समस्याग्रस्त कुरा त त्यो विरोध गरेको दृश्यमा एकपल्ट मात्र मुस्लिम अनुहारलाई देखाइन्छ । अनि ‘अरू धर्म सुरु हुँदा सनातन हिन्दु धर्म दौडिसकेको थियो’ खाले बाक्य पनि छुटाउँदैन ।

ओमाइगढ टु मा भन्दा भगवानको उपस्थितीलाई अझै स्पष्ट पार्नु । जबरजस्ती हिन्दु धर्म महान् को कुरा छिराउनु । यस्ता समस्या फिल्ममा धेरै छन् ।

यो फिल्मले केही कुरा थालेको छ । तर धेरै कुरा अधुरो नै छोडेको छ । 

हस्तमैथुन गलत हो भन्ने हिन्दु कट्टर मान्छे आफ्नो छोराको कारण बदलिएको देखाएको छ तर त्यही ठाउँमा उसको दिदीले पनि त्यही गर्छिन् भन्ने कुरा भन्न डराएको छ । 

हिन्दु सुध्रिएको देखाएर हिन्दु धर्ममा सुधार गर्नुपर्ने कुरा देखाएको छ तर त्यही कुरा भन्दै गर्दा सनातन हिन्दु नै जस्ताको तस्तै ठिक हो भन्ने खाले भाष्यलाई पनि बल पुर्‍याएको छ ।

हुन त भन्नेलाई ठाउँ होला ‘यसपल्ट किशोरको हस्तमैथुनको कुरा उठायो । बिस्तारै किशोरीको पनि आउँछ । सबै कुरा एउटै फिल्ममा हाल्न सम्भव छ र ?’

मसँग त्यसको जवाफ छ । कुनै कुरा यस्ता हुन्छन् जसलाई उठाउँदा अर्को कुरा पनि सँगै उठाउनुपर्छ । यसले किशोरको कुरा उठाउँदै गर्दा किशोरीको कुरा पनि जोड्ने ठाउँ थियो । त्यसो गरेन । 

अब ठुलो मासलाई युवकले गर्दा ठिक हो तर युवतीले गर्नु हुँदैन भन्ने नै परिरहन्छ । त्यसले महिलाको यौन सन्तुष्टिको लडाइँलाई अझै पनि पर धकेलिरहन्छ । 

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *