मकालु फिचर

‘जारी’देखि ‘उनको स्वीटर’सम्म

त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।

विद्यालयमा हुने कार्यक्रमको लागि नाच्न इच्छुक विद्यार्थीहरूलाई अडिसन दिनु भनिएको थियो । उनले पनि दिएकी थिइन् । तर छानिइनन् । सँगै अडिसन दिएका साथीहरू भने छानिए । साथीहरू छनोट भएर आफू हुन नपाउँदा उनलाई पीडा बोध भयो ।

त्यस दिन स्कुलबाट घरमा पुगेपछि आमाको काखमा उनी धुरुधुरु रोइन् ।

‘किन रोएको ?’ आमाले सोध्नुभयो ।

उनले शिक्षकहरूले गर्नुभएको पक्षपातदेखि लिएर आफू छनोट नभएको र सँगैको साथीहरू छनोट भएको सबै घटनाहरूको बेलिबिस्तार सुनाइन् ।

‘होस्, छोड्दे, यस्तै हो ।’ आमाले भन्नुभयो ।

त्यो घटनाले मन दुखाए पनि नाच्ने उनको रहर भने मारेन ।

त्यसको केही समयपछि उनले झापाकै युएमडिसि डान्स सेन्टरमा १ वर्ष हिपहप डान्स सिकिन् । तर वि.सं २०७६ सालमा आएको कोरोना महामारीका कारण लकडाउन भएपछि डान्स क्लास नै बन्द हुन पुग्यो । तापनि उनको सिक्नेक्रम भने रोकिएन । हिपहप डान्स सँगै उनले सामाजिक सञ्जालमा भएका डान्सरहरूलाई ‘फलो’ गर्न थालिन् र नयाँ नयाँ मुभहरू पनि सिकिरहिन् ।

त्यसपछि पुनः विद्यालयमा स्वागत कार्यक्रमको लागि डान्स अडिसन हुनेभयो । यसपटक पनि अडिसन दिइन् । त्यसमा सेलेक्ट भएर उनले डान्स गर्ने मौका पाइन् । डान्स हेरेपछि शिक्षकहरूबाट प्रशंसा पनि मिल्यो । त्यसदिनबाट उनले विद्यालयमा छुट्टै पहिचान बनाउन सफल भइन् ।

कक्षा १० मा हुँदा फेरी एउटा कार्यक्रमको लागि अडिसन भयो । तर त्यस दिन उनी स्कुल गएकी थिइनन् । उनको डान्स ग्रुप भने त्यसमा छानियो । आफ्नो उपस्थित बिनानै अडिसन हुँदा उनलाई फेरी एकपटक नरमाइलो लाग्यो । तर यसपटक शिक्षकले उनका लागि ठाउँ राखिदिएका रहेछन् ।

यो सानो घटना थियो तर त्यसबाट उनले उनले जीवनमा राम्रो मात्र भइराख्दैन वा नराम्रो मात्र पनि हुँदैन भन्नेकुरा सिकिन् ।

किनकि कुनै बेला असक्षम भनेर डान्सबाट निकालिए उनी त्यस बेला डान्सर भनेर चिनिएकी थिइन् ।

उनको डान्स देखिरहेका विश्वास मगरले उनलाई डान्स भिडियो बनाएर युट्युबमा अपलोड गर्न सुझाव दिए । घरमा दाजुभाइ नभएकाले उनले विश्वासलाई दाइ बनाएकी थिइन् । उनकै सल्लाह मानेर उनले ‘परिक्षा थमसुहाङ लिम्बु’ नाममा युट्युब च्यानल खोलिन् ।

युट्युबबाट डान्स सिकिरहेकै बेला उनै विश्वास दाइले उनलाई फरक-फरक लोकेसनमा लगेर डान्स सुट गरिदिन्थे । उनी लिम्बुको कल्चरल लुगा लगाएका सँगै अन्य खाले डान्सहरू गर्न थालिन् । त्यसरी खिचेको भिडियो उनी युट्युबमा हाल्न थालिन् ।

सुरुसुरुमा भिडियोमा लाइक, सेयर त के भ्युज पनि आउँदैनथ्यो । तर उनले ती सब कुराहरूलाई धेरै मतलब नगरी  भिडियो बनाइरहिन् ।

त्यसै क्रममा उनको ठुलो मामाको छोराले एउटा प्रोजेक्टको लागि फिल्मकर्मी किरण चाम्लिङ र भूपेन्द्र तुम्बाहाङसँग उनको भेट गराए । फिल्ममा काम गर्ने सोचेर एकदमै उत्साहित भएकी उनले केहीसमय पछि आफ्नो उमेर सानो भएकाले उक्त प्रोजेक्टबाट रिजेक्ट भएको थाहा पाइन् । त्यो बेला उनी धेरै दुःखी भएर घर फर्किइन् ।

तापनि किरण चाम्लिङले ‘तिमीलाई सुहाउने मिल्ने अर्को कुनै प्रोजेक्ट भयोभने भन्छु’ भनेका थिए ।

उनले भनेको कुरा पुर्‍याए ।

उपेन्द्र सुब्बाको निर्देशनमा बन्न लागेको जारी फिल्ममा उनी सहायक निर्देशकको काम गरिरहेका रहेछन् ।

उनी ‘जारी’ फिल्ममा मिरुना मगरको बहिनीको भूमिकामा खेल्ने भइन् । उक्त फिल्ममा दयाहाङ राई र मिरुना मगर हुने थाहा पाउँदा उनलाई सुरुमा त विश्वास नै लागेको थिएन ।

‘मैले फिल्म खेल्ने भन्दा बुबा-आमाले पनि पत्याउनु भएन’ उनी हाँस्दै भन्छिन् । पछि चाम्लिङ आफैँले गएर कुरा गरेपछि मात्र उनीहरूले पत्याएछन् ।

सानोछदा हजुरबुबाको कमिज र आमाको सारी लगाएर अभिनय गर्ने गरेको भए पनि परिक्षालाई फिल्ममा गर्ने अभिनयको बारेमा त्यत्ति थाहा थिएन । जारी फिल्मको निर्माण टिमले अभिनय सिकेर आउनु भनेर उनलाई झापाकै परिवर्तन थिएटर सञ्चालक पर्वत पोर्तेल फोन नम्बर दिएपछि उनले उक्त थिएटरमा गएर नाटक सिकिन् । सञ्चालक पर्वत र उनकी पत्नी कविता नेपालीले उनलाई कला सिकाउने सँगै विभिन्न फिल्मकर्मी र नाटक सम्बन्धी व्यक्तिहरूसँग पनि भेट गराउँथे ।

‘नाटक सिकेपछि उनले आफैले आफैलाई चिन्ने मौका पाएँ’ उनी भन्छिन् । अभिनय गर्दा उनलाई अभिनय मेरै लागि रहेछ भन्ने थाहा पनि भएछ ।

परिवर्तन थिएटरमा केहिसमय अभिनय सिकेपछि उनी ‘जारी’ फिल्मको सुटिङमा गइन् । उनको बुबा स्वयमले उनलाई र उनको दिदीलाई सुटिङ लोकेसनमा छोडिदिए । सुटिङको अवधि २० दिनको थियो । उक्त समयमा उनको दिदी पनि सुटिङ लोकेसनमा नै रहेर उनको साथ दिएकी थिइन् ।

त्यसपछि उनले आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिन प्लस टु सकिएर काठमाडौँ आउने योजना बनाइन् । फेसबुक मार्फत मण्डला थिएटरबाट वर्कसप हुने थाहा पाएपछि ११ को बिचमै स-परिवार काठमाडौँ आएर उनले मण्डला थिएटरमा अभिनय कक्षामा सहभागी भइन् ।

सुरुमा उनको परिवारले काठमाडौँ आउन मानेका थिएनन् । तर बुबाले सधैँ ‘बच्चाहरूलाई इन्ट्रेस लागेको काम गर्न दिनुपर्छ’  भन्नेगरेको कुराले सबैलाई जित्यो ।

‘आज म यस स्थानमा हुनुमा परिवारको सबैभन्दा महत्त्वपूर्ण भूमिका छ’ उनी भन्छिन् । उनको चाहना र सपनालाई उनको परिवारले सधैँ समर्थन गरेका छन् । परिवारका सबै सदस्यहरू मध्ये दिदीले उनलाई धेरै सपोर्ट गरेको उनी बताउँछिन् ।   नमुना कलेजमा फेसन डिजाइनिङ अध्ययनरत उनकी दिदीले उनलाई के खाने, के लाउने, मान्छेको अगाडि म कस्तो भएर प्रस्तुत हुने आदि सबै कुरा उनलाई सिकाइरहेकी हुन्छिन् ।

मण्डलामा नै अध्ययन गरिरहेको बेलामा उनी दीपक/दिपाको फिल्म ‘छक्कापञ्जा-४’ मा समेत जोडिइन् ।

यसरी झापाको स्कुलमा नृत्य गरेर सुरु भएको उनको कलाकारिताको यात्रा सिनेमाको पर्दासम्म पुगिसकेको छ । उनी भर्खरै आर्टमान्डुमार्फत नविन चौहानले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘उनको स्वीटर’ नामक चलचित्रमा आबद्ध भएकी छन् । साथै मिलन चाम्सले निर्देशन गर्न लागेका ‘एन्जेला’ नामक चलचित्रमा पनि उनको छोटो भूमिका रहने भएको छ ।

नेपाली फिल्म क्षेत्रमा ‘अवसर’ नै ठुलो चुनौती रहेको उनी बताउँछिन् । उनको अनुसार यस क्षेत्रमा आफ्नो मान्छे भएकालाई सजिलो होला तर आफ्नो मान्छे नभएकालाई अवसर पाउन गाह्रो छ । 

सँगै अहिलेको समयमा ट्रोल हुने कुराले नयाँ कलाकारको मात्र नभएर सबै कलाकारको मेन्टल हेल्थलाई एकदम असर गर्ने गरेको पनि उनको अनुभव छ । 

तर यो सबै हुँदाहुँदै पनि उनी आफूजस्तै नयाँ कलाकारहरूलाई एक चोटि अवसर नपाएपनि धैर्य गरेर निरन्तर लागिरहने आग्रह गर्छिन् । आफ्नो ट्यालेन्ट देखाएपछि मात्र मान्छेले अवसर दिने हुँदा क्षमतालाई निखार्दै जानुपर्ने उनको बुझाई छ । 

‘भविष्यको योजना के छ ?’

जवाफमा उनी भन्छिन् ‘यो काम गर्दा मलाई खुसी लाग्छ । म यसलाई नै कन्टिनिउ गर्छु । राम्रो गर्दै गयो भने राम्रै हुन्छ भनेर यस्मै लागिरहेको छु । मैले यसबाहेक केही पनि सोचेको छैन ।’

प्रतिक्रिया

One thought on “‘जारी’देखि ‘उनको स्वीटर’सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *