नेपालको बाघ संरक्षणमा गैरसरकारी संस्थाले सहयोग गरिदियोस् : वनमन्त्री

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।
उनले बाघको सङ्ख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरूले सहयोग गर्नुपर्ने बताएका हुन् ।
विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको सङ्ख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंसा पाए पनि त्यसको संरक्षण कार्य चुनौतीको रूपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उनले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरूलाई वासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरूले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गरे ।
नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । उनले गैर सरकारी संस्थाहरूले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए ।
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय समुदाय सामु नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता गरे अनुरूप गत वर्ष बाघको सङ्ख्या ३५५ पु¥याई सो प्रतिबद्धता पूरा गरिसकेको छ । हामीले गरेको वन्यजन्तुको संरक्षण कार्य अन्तर्राष्ट्रिय स्तरमै प्रशंसनीय बनेको विषय छ । हामी अहिले बाघ संरक्षणको र बाघको सङ्ख्या बढाउने क्रममा दिनरात यसमा खटिरहनुभएका नेपाल सरकारका कर्मचारीहरू, प्रहरी, सेना लगायतका जवानहरूलाई पनि यसमा धन्यवाद दिन चाहन्छु । हामीसँग अहिले एकातिर बाघलाई दोब्बर बनाउन अन्तर्राष्ट्रिय स्तरमा हामी एउटा बाघको माध्यमाबाट देशलाई चिनाउने, गौरव गर्ने एउटा पाटो छ भने अर्कोतिर त्यसलाई संरक्षण गर्नुपर्ने त्यत्तिकै ठूलो चुनौती हामीसँग छ । अहिले एउटा ठूलो बहस चलेको छ । मानिसको जीवन ठूलो कि जनावरको जीवन ठूलो भनेर । किन भन्दा खेरी हरेक वर्ष बाघबाट होस्, हात्तीबाट होस् । र, अन्य जन्तुबाट होस् । तर नेपालमा यसबाट मानिसहरूको मृत्यु हुने क्रम बढिरहेको छ । अव त्यसलाई रोक्न लागि हामी कसरी व्यवस्थापन गर्न सकिन्छ ? यहाँ हाम्रो पार्टनरहरू छन् । जसले हरेक दिन, रात नेपालमा बसेर तपाई हाम्रो जनावरको बारेमा सोच्ने, काउन्टिङ गर्ने, त्यसको बारेमा लेख्ने, बोल्ने, प्रचारप्रसार गर्ने, चासो राख्ने ती निकायहरूले हामीलाई अव यो संरक्षणमा सहयोग गर्नुप¥यो । बाघ बढ्दै जान्छ । त्यसलाई धान्ने क्षेत्रफल नभएपछि त्यो बस्ती खानका लागि पस्न सक्छ ।’
कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिएका थिए । नेपालमा तराईका ५ वटा निकुञ्जहरू र त्यस वरपरका वन क्षेत्रमा बाघ पाइन्छ । सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।










