नाटक

आफूतिर फर्किन सघाउने संवेदी नाटक ‘चक्र’ जसमा दर्शक नै कलाकार हुन्

मण्डला थिएटरमा रामहरि ढकाल निर्देशित संवेदी नाटक ‘चक्र’ मञ्चन सुरु भएको छ । यो त्यस्तो नाटक हो जहाँ कुनै कलाकार छैनन् । नाटक हेर्न पुगेका दर्शक नै कलाकार हुन् । उनीहरूले एक घण्टाको यात्रामा जे जे अनुभव गर्छन्, आफ्नो जिन्दगीको भोगाइलाई जसरी सम्झिन्छन् त्यो नै नाटक हो ।

हुन त अरू नाटकहरूमा पनि दर्शकलाई आफूले हेर्न चाहेको कुरा हेर्ने स्वतन्त्रता हुन्छ । त्यसलाई आफ्नो ढङ्गले बुझ्ने ठाउँ हुन्छ । त्यति हुँदाहुँदै पनि तीनमा निर्देशकले भन्न खोजेको कुरा दृश्य वा संवाद भएर आइरहेको हुन्छ ।

‘चक्र’ यो कुरामा फरक छ । यहाँ निर्देशकले प्रत्यक्ष रूपमा केही भनेका छैनन् । बरु दर्शकहरूलाई हिँड्ने ठाउँ बनाइदिएका छन् । आँखामा चस्मा दिएका छन् । खुट्टामा हिँड्दा चर्याक चर्याक टाँसिने कपडाको जुत्ता दिएका छन् । त्यसरी नै एक अर्कामा टाँसिने ज्याकेट लगाइदिएका छन् । अनि १५ जनालाई एकैपल्ट एउटा अपरिचित स्थानमा हालिदिएका छन् । 

त्यो स्थान कस्तो छ दर्शकले देख्दैनन् । केवल महशूस गर्छन् । कि त सुन्छन् । कि त छुन्छन् । घरीघरी आउने बास्ना लिन्छन् । बिस्तारै परिवर्तन हुने प्रकाशको गति बुझ्छन् । 

एक अर्कामा ठोक्किन्छन् । यताबाट उता पुग्छन् । उताबाट यता । 

घुमुन्जेल लाग्छ उनीहरू कुनै ठुलो ठाउँमा अल्झिरहेका छन् । पछि आँखा खोलेपछि लाग्छ त्यो ठाउँ त्यति ठुलो पनि थिएन । अर्थात् यदि त्यसलाई जिन्दगीको सङ्घर्ष मान्ने हो भने आफूले गरिरहेको सङ्घर्ष भोग्दै गर्दा जस्तो लाग्छ कटिसकेपछि त्यति ठुलो लाग्दैन । 

आँखामा अरूले दिएको चस्मा लगाउँदा जति अप्ठ्यारो लाग्छ आफ्ना आँखाले हेर्न थालेपछि त्यति अप्ठ्यारो लाग्दैन । 

चर्याक चर्याक जुत्ता लगाएर हिँड्दा जति कठिन लाग्थ्यो, त्यसलाई खोलेर हिँड्न थालेपछि त्यति अप्ठ्यारो लाग्दैन । 

अरूको चस्मा लगाएर हेर्दा जति पर देखिएको थियो प्रकाश, आफ्नै आँखाले हेर्दा त्यति पर पनि लाग्दैन । 

कलाको काम हो मान्छेलाई आफ्नो अवस्थाबारे सोच्ने नयाँ कोण दिनु । दिइरहनु । 

यो नाटकले त्यो काम गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *